संक्रमित भन्दा डिस्चार्ज दर दोब्बर


३ श्रावण २०७७, शनिबार
korona

काठमाडौं, ३ साउन । कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।

पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ ।

जसअनुसार दैनिक ४ हजार ७ सय २९ जनाको कोरोना परीक्षण भएको देखिन्छ । कुल संक्रमितमध्ये हालसम्म ६६.१२ प्रतिशत डिस्चार्ज भएका छन् । यस्तै ३३.८८ प्रतिशत सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।

दुई साताको अवधिमा १० हजार ३ सय ६९ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । यस्तै, दुई साताको अवधिमा आइसोलेसनमा उपचाररत ३ हजार १ सय ७१ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको आरटी–पिसिआर प्रविधीबाट कोरोना परीक्षण गर्दा १७ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपचारपछि ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् ।

हाल क्वारेन्टिनमा २२ हजार ७ सय ५६ छन् । संक्रमितमध्ये ५ हजार ८ सय ७१ जना आइसोलेसनमा उपचाररत छन् । अधिकांशको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ४० जनाको मृत्यु भएको छ ।

काठमाडौंमा समुदायमा संक्रमण छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका समुदायस्तरमा संक्रमण नफैलिएकाले आत्तिन नपर्ने बताए ।

गौतमले समुदायस्तरको परीक्षणका क्रममा काठमाडौंमा भीड हुने कार्यालहरुसहितका ४ हजार ८ सय जनाको स्वाब संकलन भएकामा तीन जनामा मात्रै पोजेटिभ देखिएकाले समुदायमा संक्रमण नभएको पुष्टि भएको जानकारी दिए । संक्रमित तीन जनामध्ये पनि दुई जना विदेशबाट फर्किएका हुन् ।

यस्तै, काठमाडौं उपत्यकामा हालसम्म ३० सय ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ४६, ललितपुरमा ७५ र भक्तपुरमा ४९ जनालाई संक्रमण देखिएको छ । शुक्रबार काठमाडौंमा थप एक र भक्तपुरमा दुई जनालाई संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नक्खु, कोटेश्वर, बोडे, शहीद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टोखा, डिल्लीबजार, मनोहरा, शंखमुल, बूढानिलकण्ठलगायतका स्थानबाट नमुना लिएको थियो ।

महाशाखाले मानिसको बढी भीडभाड हुने स्थान र कार्यालयबाट स्वाब संकलन गरेको हो । संक्रमितको संख्या घटे पनि जोखिम भने कायमै रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७