माधव नेपालको अबिचलित अडान


४ श्रावण २०७७, आईतवार
Madhav Nepal ex PM scaled

काठमाडौैं, ४ साउन । १५ बैसाख २०७७ । उतिबेला पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक शक्ति संघर्ष जारी नै थियो । अहिले जसरी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली घेराबन्दीमा थिए । अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय माधव नेपाल, झलनाथ खनाललगायतका बहुमत सचिवालय सदस्यहरु अध्यक्ष ओलीको बिपक्षमा उभिएका थिए ।

त्यही घेराबन्दी तोड्ने उद्देश्यले १५ बैसाख २०७७ मा अध्यक्ष ओलीले आफ्नो विपरीत खेमामा रहेका वरिष्ठ माधव नेपाललाई एउटा प्रस्ताव राखे । त्यो प्रस्ताव थियो, ‘अर्ली महाधिवेशन’ । ‘अर्ली महाधिवेशन’ अर्थात् असोजभित्र महाधिवेशन गरेर वरिष्ठ नेपाललाई अध्यक्ष बनाउने । तर वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको ‘अर्ली महाधिवेशन’ लाई अस्वीकार गरीदिए । उनले अध्यक्ष ओलीलाई भने, ‘पदको कुरो होइन पार्टी र सरकार सञ्चालनका लागि निश्चित पद्धति, विधि र प्रक्रिया बनाएर जाँऔं ।’

अध्यक्ष ओलीले फेरि त्यसको केही दिनपछि १८ बैसाख २०७७ मा वरिष्ठ नेता नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरे । फेरि वरिष्ठ नेता नेपालले यो प्रस्ताव पनि अस्वीकार गरे । उही कुरा दोहोर्‍याएर ‘अहिलेको समाधान म तेश्रो अध्यक्ष बन्ने होइन पार्टी र सरकार सञ्चालनका लागि निश्चित विधि र प्रक्रिया बनाएर जाँऔं ।’

अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गरेपछि त्यसयता अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संवाद नै टुट्यो । २ साउन २०७७ मा मात्रै अर्का अध्यक्ष प्रचण्ड पनि रहेको छलफलमा अध्यक्ष ओलीसँग संवाद भयो ।

फेरिए प्रचण्ड, माधव नेपालको अडान उही
शक्ति संघर्ष जारी नै थियो । एकातिरको नेतृत्व अध्यक्ष ओलीले गरिरहेका थिए, अर्कातिरको अध्यक्ष प्रचण्डले । तर २० वैशाख २०७७ कोे सचिवालय बैठकमा प्रचण्डले नाटकीय रुपमा बोली फेरे । त्यो दिनको सचिवालय बैठकमा अचनाक विपरीत ध्रुवमा रहेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको एउटै भाकामा भनाई आयो ।

अध्यक्ष ओलीले आत्मआलोचना गरे । पार्टी र सरकारलाई विधिमा सञ्चालनका लागि प्रतिबद्धता जाहेर गरे । प्रचण्डले पनि ओलीको भनाईमा भाका मिलाए । प्रचण्डसँग कुममा कुम मिलाएर हिंडिरहेका वरिष्ठ नेता नेपाल भने झस्किए ।

नेकपा सचिवालयमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता नेपालले आंशका व्यक्त गरे र भने, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । पार्टी र सरकार सञ्चालनका लागि विधि र प्रक्रिया बनाऔं । यी सबै छोडेर दुई जनाको चोचोमोचो चाँहि मानिन्न ।’ ओली र प्रचण्ड मिलेपछि अन्ततः उत्कर्षमा पुगेको विवाद सेलाएर गयो । ओलीको सत्ता संकट तत्काललाई टर्‍याे । तर माधव नेपालले भने विधि र पद्धतिको कुरा उठाउन छोडेनन् ।


फेरि प्रचण्डको बोली फेरियो, माधव नेपालको अडान उही
१५ बैसाख २०७७ मा वरिष्ठ नेता नेपाललाई राखेको ‘अर्ली महाधिवेशन’ कै प्रस्ताव अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई ३१ असार २०७७ को ‘वान टु वान’ छलफलमा राखे । बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘अर्ली महाधिवेशन’ बाट अध्यक्ष पद लिन भनेका थिए । अध्यक्ष ओलीको यो प्रस्तावमा अध्यक्ष प्रचण्ड अलि लचक देखिए ।

विवादको उत्कर्षकै बीचमा शनिबार (३ साउन २०७७) मा भएको नेकपा सचिवालयमा उही २० वैशाख २०७७ को दृश्य दोहोरियो । ओलीको कुरामा प्रचण्ड सहमत देखिए । प्रधानमन्त्री ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’ को प्रस्तावमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड लचक देखिए । एक सचिवालय सदस्यको भन्छन्, ‘शनिबार (३ साउन २०७७) मा भएको नेकपा सचिवालयमा उही २० वैशाख २०७७ को दृश्य उस्तै देखियो ।’

शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार बसेको सचिवालय बैठकमा ओलीले पार्टीमा अहिले देखिएको संकटको निकासका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखे । ओलीको प्रस्तावमा प्रचण्ड लचक देखिए ।

उसैगरी वरिष्ठ नेता नेपालले संशकित भए । दुई जना अहिलेको समस्या दुई अध्यक्ष मिलेर मात्रै नहुने भन्दै पार्टी र सरकारलाई विधिमा सञ्चालनका लागि प्याकेजमा सहमति गर्नुपर्ने बताए । उनले भने, ‘दुई अध्यक्षको मात्र चोचोमोचो मिल्दैमा सबैथोक मिल्छ भन्ने भ्रमबाट मुक्त हुनुस् । यो पार्टीलाई विधि र प्रक्रियासँग, कार्यशैलीसँग, कम्युनिस्ट संस्कृतिसँग जोड्ने प्रश्न हो । कस्तो पार्टी बनाउने भन्ने विषय हो । यी सबै विषयलाई सम्बोधन गर्ने गरी एकताको समग्र प्याकेज ल्याउनुस्, त्यसपछि बल्ल छलफल गर्न सकिन्छ, अधुरो कुरा हुँदैन, मानिँदैन ।’

वरिष्ठ नेता नेपालले फेरि पनि दुई अध्यक्ष मिल्ना साथ समस्या समाधान भइहाल्छ भनेर नठान्न पनि चेतावनी दिए । उनले भने, ‘आइतबार स्थायी समिति बोलाइयोस्, त्यहाँ पनि छलफल होस् । होइन, तपाईंहरू मात्रै मिल्दा सबै कुरा हुने हो भने म पनि देशव्यापी अभियानमा जाने कुरामा सोच्दैछु । कसैले अहिलेसम्म पार्टीको निर्णय नमान्दा केही फरक नपर्ने हो भने अरूका निम्ति पनि मान्नु पर्ने बाध्यता छैन । पार्टीमा सबै बराबर हुन् कोही विशेष होइन, यो कुरा दुवैले बुझिराख्नुस् ।’

प्रचण्डसँग उही अडान
अध्यक्ष ओली र प्रचण्ड मिलेको समाचार शनिबार (३ साउन २०७७) फैलियो । यही हल्लाबीच आइतबार (४ साउन) मा वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु प्रचण्डको निवास खुमलटार पुगे । खुमलटारमा  वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुनलगायतका नेताहरु थिए ।

वरिष्ठ नेता नेपालले आइतबारको छलफलमा पनि निश्चित पदको लेनदेनका लागि होइन पार्टी र सरकारलाई ठिक तरिकाले सञ्चालन गर्नका लागि निश्चित पद्धति र विधि बनाउनु पर्नेमा जोड दिएका छन् । आइतबारको छलफलमा भने प्रचण्डले आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा लगेको गुनासो गरेका थिए ।

आफ्नो समूहको बलियो साथ
पछिल्लो समयमा पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन हुन नसकेको वरिष्ठ नेता नेपालको निचोड छ । अध्यक्षद्धय ओली र प्रचण्डको छलफल शक्ति लेनदेनमा केन्द्रीत देखिए पनि वरिष्ठ नेता नेपाले भने निरन्तर रुपमा विधि र प्रक्रियाको बिषय उठाएका छन् ।

यसपालि उनी निकट नेताहरुले पनि एकगठ भएर नेता वरिष्ठ नेपालको अभियानलाई सघाएका छन् । तात्कालीन एमालेका उपाध्यक्ष हालका स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भिम रावलदेखि स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, रघुजी पन्त, गोकर्ण विष्ट, भिम रावल, बेदुराम भुसाललगायतका नेताहरु उनको अडानको पक्षमा उभिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७