साउने सोमबारमा पनि खुलेन पशुपतिनाथ, तरै पनि पुगे ब्रतालु (हेर्नुस् तस्विरहरु)


प्रकाशित मिति : 20 July, 2020 1:05 pm

काठमाडौं, ५ साउन । आज साउनको पहिलो सोमबार अनि औशी पनि । अघिल्ला वर्षहरुमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्ने पशुपतिनाथको मन्दिर यस पटक खुलेन । एकाध ब्रतालुहरु आउने बाकेक पशुपनि सुनसान जस्तै छ । पशुपति पुगेकाहरूले पनि मुखमा माक्स लगाएका छन् । उनीहरूले मन्दिरमा जल चढाएका छन् ।

पशुपति क्षेत्र विकास कोषले मन्दिर नखोल्ने जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर आज पनि खुलेन ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।

उनले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गर्नुभएको छ । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ ।

महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजापाठ गर्न कोषले आग्रह गरेको हो । यसैबीच पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने आज पनि हुनेछ ।

लकडाउनका बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भइरहेकै छ । यस्तै बेलुका हुने आरती पनि विधिपूर्वक एक जनाले गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्