महामारीमाथि प्राकृतिक विपत्, प्राकृतिक विपतभन्दा निर्दयी सरकार


६ श्रावण २०७७, मंगलवार
pic 2.jpg .2020 07 21

काठमाडौं, ६ साउन । दुई दिनदेखिको अविरल वर्षा र पहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं, तनहुँ, दार्चुला, धादिङ र गोरखामा सात जनाले ज्यान गुमाएका छन् ।

५० भन्दा बढी परिवार विस्थापित भएका छन् । मौवा खोलामा आएको बाढीले धादिङ र चितवन जोड्ने पृथ्वी राजमार्गको पुल भत्काएपछि आवागमन अवरुद्ध भएको छ । बाढीपहिरोले अन्य आठ सडकमा पनि क्षति पुर्‍याएको छ, जसले गर्दा यातायात ठप्प भएको छ ।

तनहुँमा पहिरोमा पुरिएर हजुरआमा र नातिनीको मृत्यु

पहिरोमा परेर तनहुँको भानु नगरपालिका– ९ पुर्कोटका ८० वर्षीया तिलमाया धौलारी र उनकी १५ वर्षीया नातिनी सीताष्माको मृत्यु भएको छ । सोमबार दिउँसो आएको पहिरोले उनको घर पुरिएको थियो ।

तिलमायाको घटनास्थलमै र सीताष्माको धौलारीस्थित मेडिकलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सिनाले बताए । पहिरोले अर्को एक घरमा पनि क्षति पुगेको छ । तर, घरमा कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

एक साताअघि पनि तनहुँका विभिन्न स्थानमा गएको पहिरोमा ११ जनाको मृत्यु भएको थियो । योसँगै तनहुँमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने एक जना बेपत्ता छन् । बेपत्ता भएका व्यास नगरपालिका– ९ माझफाँटका राजेश थापाको खोजी भइरहेको डिएसपी तिमिल्सिनाले बताए ।

दार्चुलामा ६ वर्षीया बालिकासहित दुईको मृत्यु
पहिरोले घर पुरिँदा दार्चुलाको नौगाड गाउँपालिका– ६ परिगाउँमा ६ वर्षीया बालिकासहित दुई जनाकोे मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार राति आएको पहिरोले मानमती ठगुन्ना र मानसिंह ठगुन्नाको घर पुरिएको हो । घर पुरिँदा ४२ वर्षीया मानमती र ६ वर्षीया आरती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर विष्टले बताए । आरती मानसिंहकी छोरी हुन् ।

पहिरोमा पुरिएर पानमती धामी र मोहना ठगुन्ना घाइतेका भएका छन् । उनीहरूको स्थानीय बासिन्दाले उद्धार गरेका थिए । पहिरोले परिगाउँकै आधारभूत विद्यालयको भवनमा पनि क्षति पुगेको छ ।

त्यस्तै, लास्कु खोलामा आएको बाढी महाकाली नगरपालिका– ३ स्थित साना जलविद्युत् आयोजनाको विद्युत गृहभित्र पसेको छ । विद्युत् सेवा अवरुद्ध भएको छ । बाढीले खोला किनारका ६ पानीघट्ट, तीन पुल, दुई माछापोखरी र एउटा बाख्राको गोठ बगाएको छ । यस क्षेत्रका ६ घर पनि जोखिममा परेका छन् ।

धादिङमा सात घर पुरिए, एकको मृत्यु, एक बेपत्ता

बाढी र पहिरोले धादिङमा सात घर बगाएको छ । पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एक जनालाई खोलाले बेपत्ता बनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गजुरी गाउँपालिका– २ मजुवाडाँडामा पहिरोले घर पुरिँदा १७ वर्षीया निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । त्यस्तै, थाक्रे गाउँपालिका– ६ महादेवबेसीकी ६० वर्षीया महिला महेशखोलामा बगेकी छिन् । उनको पहिचान हुन सकेको छैन । स्थानीय बासिन्दा र सुरक्षाकर्मी खोजीमा खटिएका छन् । बाढी र पहिरोले बाँदरेमा तीन वटा सवारीसाधन बगाएको र चार वटा पुरिएको डिएसपी खड्काले बताए ।

त्यस्तै, बेनीघाट रोराङ गाउँपालिका– ८ धुषाटारमा पहिरोले निशा चेपाङको घर भत्किँदा उनकी पाँच वर्षीया छोरी संगीता गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

त्यस्तै, मौवा खोलामा आएको बाढीले धादिङ र चितवन जोड्ने पृथ्वी राजमार्गको पुल भत्किएको छ । पुलको धादिङतर्फको आधा भाग भत्किएपछि राजमार्गको यातायात अवरुद्ध भएको छ । यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन् । हुग्दीखोला, बाँदरेखोला, बैरेनी, चालिसे, फुर्केखोला, मलेखु, छहरे खोलाको बाढीले राजमार्गमा लेदो थुप्रिएको छ ।

गोरखामा पनि एक जनाको मृत्यु

पहिरोले गोठ पुरिँदा गोरखामा पनि एकजनाको मृत्यु भएको छ । गण्डकी गाउँपालिका– ४ फुजेलस्थित कौदीकी ३४ वर्षीया लक्ष्मीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वासुदेव खतिवडाले बताए ।

सोमबार दिउँसो बाख्रालाई घाँस हाल्न जाँदा भिरबाट आएको पहिरोले गोठसँगै उनलाई पनि पुरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले पहिरो पन्छाउँदा उनको शव भेटिएको थियो । गोठमा रहेका आठ बाख्रा पनि मरेका छन् ।

त्यस्तै, आबुखैरेनी–गोरखा सडकखण्डको गोरखा नगरपालिका–१३ मझुवामा पहिरो गएको छ । पहिरोका कारण दिनभर यातायात अवरुद्ध भएको थियो । डोजर लगाएर पहिरो हटाएपछि सोमबार साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर, वर्षा भइरहेकाले पहिरो जाने क्रम नरोकिएको डिएसपी खतिवडाले बताए ।

धनकुटामा पाँच परिवार विस्थापित

दुई दिनदेखिको वर्षापछिको पहिरोले धनकुटामा पाँच परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार महालक्ष्मी नगरपालिका– ५ लेगुवाका तीन घर र धनकुटा नगरपालिका– १ हिलेका दुई घर विस्थापित भएका हुन् ।

पहिरोले घरमा क्षति पुगेपछि हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएका छन् । त्यस्तै, लेगुवाका दीपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवार पनि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । उनीहरूलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए ।

त्यस्तै, साँगुरीगढी गाउँपालिका– ७ लेउती र गर्जुवा खोलामा आएको बाढीले संगमस्थलका नौ घर उच्च जोखिममा परेका छन् । खोलाले कटान गरिरहेको स्थानीय यामबहादुर राईले बताए ।
गर्जुवा खोलामा आएको बाढीले धरान–धनकुटा कोसी राजमार्ग समेत अवरुद्ध हुँदै आएको छ । पानी पर्नेबित्तिकै गर्जुवाको मुहानमा पहिरो जाने र पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको डिभिजन सडक कार्यालय धनकुटाका सुपरभाइजर अमृता राईले बताइन् ।

सोमबार दिउँसो पनि खोलामा आएको बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को.१झ ५८४ नम्बरको गाडी पुरिएको छ । डोजरले गाडी निकालिएको धनकुटा नगरपालिका कार्यक्रम संयोजक सीताराम गौतमले बताए ।

माईखोलाको बाढीले इलाममा निर्माणाधीन पुल बगायो

इलामको माईखोलामा आएको बाढीले इलाम नगरपालिका–५ र माई–जोगमाई गाउँपालिका–५ जोड्ने निर्माणाधीन दुधाङ पुल बगाएको छ । सोमबार दिउँसो आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको स्थानीय शिक्षक वीरबहादुर जोगीले बताए ।

पुल निर्माणका लागि सडक डिभिजन कार्यालयले आर्थिक वर्ष ०७०–७१ ठेक्का सम्झौता गरेको थियो । सात वर्षपछि मुस्किलले निर्माण हुन लागेको पुल बाढीले बगाएको हो । यो पुलको लागत ६ करोड १२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

सात वर्षसम्म ६० प्रतिशत मात्रै काम भएको डिभिजन सडक कार्यालयले जनाएको छ । यही वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि लकडाउनमा निर्माण व्यवसायीले सामान जुटाउन नसक्दा काम हुन नसकेको कार्यालयका प्रमुख अभिमनदास मुल्मीले बताए ।

निर्माण कम्पनी नेसनल नीलगिरि जेभीलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो । तर, यत्तिका वर्षसम्म काम हुन सकेन । पुल नबनेकाले वर्षामा सवारीसाधन चल्ने गरेका छैनन् ।

लमजुङमा पहिरोले १२ घरमा क्षति

अविरल वर्षासँगै आएको पहिरोले लमजुङमा १२ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार र आइतबार आएको पहिरोले घरमा क्षति पु¥याएपछि परिवारका सदस्य विस्थापित भएका छन् ।

पहिरोले दूधपोखरी गाउँपालिका–२ जल्केनीका कमला तामाङ र देवबहादुर तामाङको घरमा क्षति पुगेको छ । दुवै परिवार विस्थापित भएका छन् । दूधपोखरी–५ बन्देस्वारामा पहिरोले रामबहादुर तामाङ, कालीमाया तामाङ र कामी तामाङको घर पूर्ण रूपमा क्षति भएको छ । यस्तै, कलबहादुर तामाङको घर जोखिममा परेको र उनको चारजनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताए ।

यस्तै, दोर्दी गाउँपालिका–३ काल्चेमा विकास भुजेल र अनिल भुजेलको घरमा पहिरोले क्षति पुगेको छ । दुवै परिवार छिमेकीको घरमा बसिरहेका छन् । दोर्दी–१ भारते लामीस्वारामा कृष्णप्रसाद अधिकारीको घर पहिरोले पुरिएको छ । लामीस्वाराका १० घर जोखिममा परेका डिएसपी थापाले बताए ।

राइनास नगरपालिका–६ धमिलीकुवामा जुना चिलवालको घर डुबानमा परेको छ भने सुन्दरबजार नगरपालिका–९ फेदीकुनामा रामप्रसाद लोहनीको घरमा पहिरोले क्षति पुगेको छ । सुन्दरबजार–४ दुराडाँडामा पूर्णबहादुर विकको घर भत्किएको छ ।

बेसीसहर–चामे सडक अवरुद्ध

पहिरोले मनाङ जोड्ने बेसीसहर–चामे सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहरदेखि चामेसम्म तीन ठाउँमा पहिरो गएको छ ।

बेसीसहर–चामे सडकअन्तर्गत म्यार्दी भिर, शिरचौर, च्याम्चेलगायत ठाउँमा पहिरो गएको छ । सडकमा ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । धेरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन केही समय लाग्ने उनले बताए ।

जाजरकोटका एक हजार एक सय ५५ विस्थापित परिवारलाई शिविरमा राखिने

पहिरोले जाजरकोटको बारेकोट गाउँपालिकामा एक हजार एक सय ५५ परिवार विस्थापित भएका छन् । उनीहरूलाई गाउँपालिकाले वर्षात्को समयमा शिविरमा राख्ने भएको छ ।

२५ असारमा आएको पहिरोले बारेकोटका केही घर भत्किएका थिए भने केही घर जोखिममा परेका छन् । गाउँपालिकाले वडा नं. १ देखि ७ सम्मका परिवारलाई तीन श्रेणीमा राखेर वर्गीकरण गरेको छ ।

पूर्ण रूपमा भत्किएको, आंशिक क्षति भएको र आंशिक क्षति भए पनि जोखिम नरहेको समूहमा वर्गीकरण गरेको हो । पूर्ण रूपमा भत्किएको र जोखिममा रहेका परिवारलाई शिविरमा राख्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

उनीहरूलाई सुरक्षित स्थानमा राखेर आधारभूत आवश्यकता परिपूर्ति गर्ने निर्णय गरेको छ । त्यसका लागि १० हजार क्विन्टल चामल आवश्यक रहेकाले संघ र प्रदेशलाई गुहार्ने जनाएको छ ।

तीव्र कटान रोक्न छेकबार लगाउँदै स्थानीय

ठूला तथा साना नदीमा आएको बाढीले कटान गर्न थालेपछि झापाका कैयौं गाउँ जोखिममा परेका छन् । नदीको कटानबाट जोगाउन स्थानीयले छेकबार लगाउन थालेका छन् ।

झापाको कमल गाउँपालिका–६ खयरबारीस्थित रतुवाखोला बस्तीमा पस्ने खतरा बढेको छ । खोलाले कटान गरेपछि स्थानीयले आफै छेकबार लगाउन थालेका हुन् । बाँस लगाएर जनताको तटबन्धनले नदी नियन्त्रणको प्रयास गरे पनि बस्ती पस्ने खतरा बढेपछि अस्थायी तटबन्धन निर्माणमा लागेको कमल–६ का टंक खड्काले बताए । ‘तत्काल खोला नपस्ने बनायौँ । तर, यसले त कति पनि थाम्दैन,’ उनले भने, ‘खोलाको स्थायी तटबन्धन नगरेसम्म यस्तै हो ।’

खोला नियन्त्रण गर्न उनीहरूलाई सशस्त्र प्रहरीको औद्योगिक गुल्मको टोलीले पनि सघाएको छ । सशस्त्रको सहयोगमा स्थानीय बासिन्दाले बाँस तथा रूखका हाँगा राखेको उनले बताए ।
०७४ मा पनि रतुवा खोला गाउँ पसेको थियो । कैयौं परिवार विस्थापित भएका थिए । फेरि पनि उस्तै समस्या आउने हो कि भन्ने त्रास बढेको स्थानीय गजेन्द्र भुजेलले गुनासो गरे । बिहानैदेखि लागेर छेकबार लगाएको उनले बताए ।

पानी पर्न थालेपछि खोला आउँछ कि भनेर राति निद्रा लाग्न छोडेको स्थानीय सिर्जना माझीले बताइन् । ‘राति पानी आयो भने त निद्रै लाग्दैन । खोला हेर्न गइरहन्छौँ,’ माझीले भनिन्, ‘खोलाछेउमा त कहिले पनि बस्न नपरोस् भन्ने छ ।’ सरकारी निकायले वेलैमा ध्यान नदिँदा समस्या भएको उनको भनाइ छ ।

३८ दिनमा प्राकृतिक विपतबाट एक सय ५३ को मृत्यु, ४३ बेपत्ता ३० करोड २७ लाख बराबरको धनमाल क्षति

काठमाडौंर मनसुन सुरु भएताका ३८ दिनमा प्राकृतिक विपत्बाट देशभर एक सय ५३ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता छन् भने दुई सय सात घाइते भएका छन् । ३० करोड २७ लाखबराबरको धनमालमा क्षति भएको छ ।

यस वर्ष ३० जेठदेखि मनसुन सुरु भएको हो । गृह मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा धेरै एक सय ११ जनाको पहिरोबाट ज्यान गएको छ । बाढीमा परी मृत्यु हुने तीन जना छन् । बाँकीको चट्याङ, ढुंगाले किचेर, भिरबाट लडेर र सर्पको डसाइबाट मृत्यु भएको हो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अघिल्लो साताको तुलनामा वर्षाको अनुपात कम भए पनि पहिरो र बाढीको जोखिम भने अझ धेरै रहेको बताए । निरन्तरको वर्षाले जमिन गलेको तथा खोल्सा, खोला र नदीमा पानीको बहाव बढेकाले पहिरोको खतरा रहेको कार्यकारी अधिकृत पोखरेलले बताए ।

‘बाढी र पहिरोका कारण यस अवधिमा धेरैको ज्यान गयो । बेपत्ता हुने र घाइते हुनेको संख्या पनि त्यत्तिकै बढेको छ । यो दर अझै बढ्न सक्छ । किनकि जमिन गलेको छ । थोरै वर्षाले पनि त्यसलाई असर गर्छ । त्यसले क्षति बढाउन सक्ने भएकाले हामीले सबैलाई सचेत हुन भनेका छौँ,’ पोखरेलले भने ।

यी ठाउँमा खतरा छ

प्राधिकरणका अनुसार निरन्तरको वर्षाका कारण नारायणी, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने सम्भावना छ । कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीले पनि क्षति पुर्‍याउन सक्ने भएकाले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन् । उनीहरूलाई एसएमएसमार्फत पनि सचेत गराइएको छ ।

मेची, बिरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया, सुनसरी, बुढी, त्रियुगा, माउली, गगान, खाँडो, रातु, चुरियामाई, लालबकैया, पूर्वी राप्ती, तिनाउ, वाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउलीलगायत खोलामा पनि बाढी आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

‘नारायणीमा त नौ दशमलव पाँच मिटरसम्म नदीको बहाव बढ्ने संकेत देखिएको छ । रौतहट भएर बग्ने लालबकैया नदी हिंस्रक भएर उत्रन सक्छ । यो नदी सबैभन्दा धेरै उर्लिएको छ । यस क्षेत्रमा स्थानीयलाई हामीले सजग रहन भनेका छौँ । सम्बन्धित जिल्लाका सिडिओले खतरा हुन सक्ने स्थानमा पुगेर अवलोकन गर्नुका साथै स्थानीयलाई सचेत गराएका छन्,’ कार्यकारी अधिकृत पोखरेलले भने । सम्भावित जोखिमबाट उद्धार गर्नका लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवीलाई अलर्ट गरिएको प्राधिकरणले जनाएको छ ।

रोपाई गरेर कमाएको १० हजार रुपैयाँ र नागरिकता पनि जल्यो

‘सरकार हाम्रो पनि होला, हामीले बिजुली मागेनौँ, खानेपानी मागेनौँ, बाटो मागेनौँ, अस्पताल मागेनौँ । हामी आफैले झुप्रो बनाएको थियौँ । त्यही पनि आगो लगाइदियो । सरकार लाग्यो हजुर ! हाम्रो उठिबास लगायो ।’

कोरोना महामारी र प्राकृतिक विपत्तिले देश संकटमा छ । तर, चितवन कुसुमखोलाको चेपाङबस्तीमा यही वेला सरकार पनि लागेको छ । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काई दिएको छ । सरकारले झुप्रोमा आगो लगाई दिएपछि मध्यबर्खामा चेपाङ घरबारविहीन भएका छन् ।

टिकटक बनाउन खेतको हिलोमा हामफाल्ने प्रतिस्पर्धा चलेको वेला चेपाङ बस्तीका २० वर्षीय युवा दानबहादुर प्रजा भने दुनियाँको खेत जोत्दै र खन्दै हिँडेका थिए । ‘अहिले रोपाइँको सिजन थियो, कमाइ गर्ने वेला पनि यही हो ।

एक दिन नबिराई ठाउँठाउँमा गएर खेतमा कोदालो चलाएँ, महिना दिन लगाएर १० हजार कमाएको थिएँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘घरसँगै त्यही पैसा पनि जल्यो, सबैभन्दा ठूलो सम्पत्ति नै त्यही थियो ।’

शनिबार निकुन्जको टोली आउँदा उनी घरमा थिएनन् । उनी फेरि अर्काको घरमा काममा गएका थिए । ‘घरमा बुबाआमा हुनुहुन्थ्यो । आगो लगाउनु पहिले अरू सामान त निकाल्नु भएछ, तर १० हजार रुपैयाँ र नागरिकता निकाल्ने मेसो पाउनु भएनछ,’ दानबहादुरले रुन्चे स्वरमा भने, ‘घरमा आगो लाग्यो रे भन्ने सुन्नासाथ दगुर्दै आएँ, तर म आइपुग्दा घर नै खरानी भइसकेको थियो, पैसासँगै नागरिकता पनि जलेछ । हिलोमा कोदालो चलाएर कमाएको हुँ ।’

नगद र नागरिकता मात्र होइन, निकुन्जको टोलीले उनीहरूको खेती पनि नष्ट गरिदिएको छ । ‘घर भत्काइदियो, आगो लगाइदियो । ससाना गरामा लगाएको मकै र धान पनि नष्ट गरिदियो, हाम्रो उठिबास लगायो,’ उनले भने । सरकारले उठिबास लगाइदिएपछि चेपाङहरू स्थानीय विद्यालयमा बस्दै आएका छन् । दानबहादुरसँगै दीपबहादुर चेपाङको घरमा आगो लगाएको थियो भने अन्य आठ घर हात्ती लगाएर भत्काइएको थियो ।

कुसुमखोलाको चेपाङबस्तीमा १० परिवारको उठिबास लगाइएको छ । अरू परिवारलाई पनि एक साताभित्र बस्ती छाड्न निकुन्जले आदेश दिएको छ । तर, निकुन्जका वार्डेन नारायण रूपाखेतीले भने त्यस्तो धम्की दिएको, घर भत्काएको र झुप्रोमा आगो लगाएको विवरण गलत भएको दाबी गरेका थिए । पहिलो सूचना आउनासाथ उनले आइतबार भनेका थिए, ‘मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरी बनाइएका छाप्राहरू मात्र हटाएको हो । मान्छे बसेका घरहरूमा कुनै असर पुगेको छैन । यो बर्खामा कसैले मानिस बसेको घर भत्काउँछ ?’

चेपाङको बस्तीमा आगो लागेको भन्दै सांकेतिक तस्बिर अहिले सामाजिक सञ्जालमा सेयर भइरहेको छ । गुगलबाट डाउनलोड गरेर पोस्ट गरिएका तस्बिरको भरमा हल्ला फैलाइएको भन्दै रूपाखेतीले त्यसको विश्वास नगर्न भनेका थिए । तर, सोमबार घर भत्काइएको भिडियो र आगोले खरानी भएका भुप्राका तस्बिर प्राप्त गरेको छ ।

प्रमाणसहित प्रश्न गरेपछि भने निकुन्जले बोली फेरेको छ । कुसुमखोलाको अपरेसनमा गएका निकुन्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तले भने, ‘छाप्रा भत्काइएको हो, भत्काउँदा आगो पनि लाग्यो होला ।’ आगो लाग्दा उनीहरू चेपाङहरूको दुःखमा रमाइलो गरिरहेको दृश्य पनि भिडियोमा देख्न सकिन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७