गाउँ नै पहिरोमा, सतर्कताले १९ परिवार जोगिए


८ श्रावण २०७७, बिहीबार
lamjung

लमजुङ, ८ साउन । तीन सय मिटरमाथिबाट आएको पहिरोले उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँका १९ घर पुरिएका छन् भने पूरै गाउँका घरमा क्षति पुगेको छ । सतर्कता अपनाउँदा पहिरोले घर पुरिएका १९ परिवारको ज्यान जोगिएको छ ।

बुधबार बिहान आएको पहिरोले १९ घर पुरिएका छन् भने गाउँका बाँकी ६१ घरमा पनि क्षति पुगेको स्थानीय हरिबहादुर थापाले बताए । उनका अनुसार यो गाउँमा ८० घर रहेका छन् । मंगलबार पनि सानो पहिरो आएको थियो । पानी पर्न नरोकिएपछि उनीहरू घर छोडेर स्थानीय विद्यालयमा बसेका थिए । ‘त्यही ठाउँमा ठूलो पहिरो आयो, घर नछोडेको भए सबै पुरिन्थ्यौँ,’ उनले भने ।

मंगलबार पहिरो गएकै ठाउँमा बुधबार पनि पहिरो गएकाले धेरै क्षति भएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । सबै गाउँले विद्यालयमा सरेकाले मानवीय क्षति हुनबाट जोगिएको बस्नेतले बताए । उनका अनुसार अझै पनि ६१ घर उच्च जोखिममा छन् ।

घर पुरिएका परिवारले मंगलबार नै बस्ती छोडेका भए पनि केही भने त्यहीं बसिरहेका थिए । बुधबार पहिरो आउँदा भागेर ज्यान जोगिएको उनीहरूले बताएका छन् । भाग्दै गर्दा पहिरोमा परेर आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १८ वर्षीय सुजन अछामी, २५ वर्षीया सिर्जना गोतामे, २८ वर्षीया सबिता बस्याल, ५५ वर्षीया जमुना अधिकारी, २७ वर्षीया फूलमाया मजाकोटी, ६५ वर्षीया नन्दकुमारी अछामी, २४ वर्षीय मिलन अछामी र ७० वर्षीय देवबहादुर सार्की घाइते भएका हुन् । घाइते ६ जनाको स्थानीय खुदी स्वास्थ्य चौकीमा उपचार भइरहेको र दुई जनालाई जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले बताए ।

पहिरो खसेको खबर पाउनेबित्तिकै घटनास्थल पुगेर उद्धार गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । मान्छेको ज्यान जोगिए पनि घरभित्रको सामान भने निकाल्न नसकिएको उनले बताए ।

झापामा पहिरोले एकको मृत्यु
चार दिनदेखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर झापामा एकजनाको मृत्यु भएको छ भने माई नदीमा आएको बाढी बस्तीमा बस्दा सय परिवार विस्थापित भएका छन् । मंगलबार राति पहिरोले बुद्धशान्ति–७ मोतीडाँडाका तेजबहादुर बराइलीको घर भत्किएको छ ।

घर भत्किँदा मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी केही दिनअघि मामाको घर आएका थिए । घर भत्किएर च्यापिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।

स्याङ्जामा आमाको मृत्यु, छोरी घाइते
पहिरोले घर पुरिँदा स्याङ्जाको गल्याङ नगरपालिका–१० गाउँसौराकी ५५ वर्षीया माया सारूको मृत्यु भएको छ । उनकी छोरी २२ वर्षीया नारायणी घाइते भएकी छिन् । बुधबार बिहान साढे ३ बजे आएको पहिरोले घर पूर्ण रूपमा क्षति भएको छ ।

घर भत्किएको थाहा पाउने बित्तिकै स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए । उनीहरूले नारायणीको उद्धार गरेर अस्पताल लगेका थिए । उनलाई डालोमा बोकेर अस्पताल पु¥याइएको छ । उनको उपचार भइरहेको छ । मायाको भने शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।

घरसँगै रहेको गोठमा पनि क्षति भएको छ । त्यस्तै, नजिकैका दुई घर पनि जोखिममा परेका छन् । दुवै घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको नगरपालिका मेयर भूपराज अधिकारीले बताए । उनीहरू छिमेकीको घरमा बसिरहेका छन् । ठाउँठाउँमा पहिरो खसेकाले घटनास्थल पुग्न कठिन भएको नगरपालिकाका जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिँजालीले बताए । उनका अनुसार डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।

रौतहटमा बालकलाई बाढीले बगायो
लालबकैया खोलामा आएको बाढीले बगाउँदा रौतटहमा एक बालकको मृत्यु भएको छ । बुधबार दिउँसो कटहरिया नगरपालिका–१ भसेडवाका १० वर्षीय बैजु यादवलाई बाढीले बगाएको हो ।

खोलामा बगेर आएका दाउरा टिप्न जाँदा उनको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले बताए । अन्य गाउँले पनि दाउरा टिप्न गएका थिए । उनी बगेको थाहा पाउनेबित्तिकै उद्धारको प्रयास गरिएको थियो । तर, उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।

स्यार्पु तालमा डुबेर एकको मृत्यु, एक बेपत्ता
रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बुधबार नुहाउने क्रममा डुबेर बाँफीकोट गाउँपालिका–५ बडगाउँका २३ वर्षीय लोकबहादुर घर्तीको मृत्यु भएको हो ।

पौडी खेलिरहेका बडगाउँकै २० वर्षीय अनिल घर्ती डुब्न लागेपछि बचाउनका लागि लोक गएका थिए । अनिल बेपत्ता भएका छन् भने उद्धार गर्न गएका लोकको मृत्यु भएको बाँफीकोट–३ का वडाध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

अनिलसँगै डुबेका १५ वर्षीय कमल विकको भने स्थानीय जेनिस पुरीले उद्धार गरेको वडाध्यक्ष केसीले बताए । खारखोलाबाट पसेर स्यार्पु तालमा पौडी खेलिरहेका उनीहरू बाढीका कारण बाहिर निस्कन सकेनन् ।

खोलाको वेगले उनीहरू निस्कन नसकेको वडाध्यक्ष केसीले बताए । बेपत्ता भएका अनिलको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७