लाभ लिन नसकिएको सुदूरपश्चिमको अनुपम उपहार ‘खप्तड’

‘खप्तडका नाममा दुनियाँले आफ्नो प्यास मेटाए तर, यसको विकास भने कसैले गरेनन्’


प्रकाशित मिति : 23 July, 2020 5:05 pm

डोटी, ८ साउन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् ।

सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका रुपमा यस प्रदेशका चार जिल्लाको काखमा अवस्थित यो आकर्षकस्थल यहाँका राजनीतिक दललगायत स्थानीयवासीले प्रचारप्रसार र विकास गर्न सकेका छैनन् ।

यहाँका सबै राजनीतिक दलहरु हुन् या अनेक सङ्घ संस्थाले खप्तडको सुन्दरताको बयान मात्र गर्ने गरेका तर यसको विकास भने गर्न नसकेका स्थानीयवासीको आरोप छ । उनीहरु भन्छन्, ‘अहिले पर्यटकीय नगरी खप्तड आफ्नो विकासमा काम गर्ने मनकारी व्यक्तिहरुको खोजीमा रहेको छ ।’

विभिन्न समयमा खप्तडका नाममा प्रस्तावना पेश गरेर आफ्नो मात्र काम गर्ने विभिन्न रुपमा आए पनि अब भने खप्तड आफ्नोे हितमा काम गर्ने नेतृत्वको पर्खाइमा रहेको स्थानीयवासी तथा उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, ‘खप्तडका नाममा दुनियाँले आफ्नो प्यास मेटाए तर खप्तडको विकास भने कसैले गरेनन् ।’

सुदूरपश्चिम क्षेत्रको मात्र नभएर देशकै एक प्रमुख पर्यटकीय क्षेत्र खप्तडका नाममा कहिले गङ्गा दशहरा त कहिले महोत्सव गर्ने नाममा लाखौं रकम सकिएको छ । खप्तडको विकासका नाममा काम नगर्ने तर कुरा मात्रै गर्नेमा पत्रकारदेखि समाजका धेरै वर्गमा मानिस देखिएको स्थानीयवासीको आरोप छ ।

पत्रकारहरुले खप्तडका बारेमा लेख्ने तर यहाँ भएका अनियमिततालाई सार्वजनिक नगरिदिने गरेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीयवासी किरण भण्डारीले आरोप लगाए । पर्यटकीय नगरी खप्तडका नाममा धेरै राजनीति भएका कारण पनि समयानुकूल र बजेटअनुरुप विकास हुन नसकेको स्थानीयवासी र सरोकारवालाको बुझाइ रहेको छ ।

खप्तडको परिचय
आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले ५० वर्षको तपस्यापछि सुदूरपश्चिमका चार पहाडी जिल्लाको सिमानामा पर्ने खप्तड क्षेत्रलाई ‘भू–स्वर्ग’को उपनाम दिंदै संसारभर प्रचार गरे ।

त्यसअघि निगालोको जङ्गलका रुपमा गुमनाम खप्तडलाई अहिले सुदूरपश्चिमेलीहरु प्रकृतिले दिएको अनुपम उपहारका रुपमा बुझिरहेका छन् । तर खप्तडमा भएको खजनालाई कसैले पनि उपयोगमा ल्याउन नसकेको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाठकले बताए ।

उनले भने, ‘खप्तड प्रकृतिको खजना हो भन्ने जान्दा जानेर पनि यसबाट अधिकतम उपलब्धि हासिल गर्न नसक्नु यस क्षेत्रका हाम्रै कमजोरी हो । यहाँ त बजेट सक्ने तर काम नगर्ने भएको छ, यस्तो कदापी हुनु हुँदैन ।’

खप्तड स्वामी (बाबा) ले भने झै खप्तड पर्यटकका लागि भू–स्वर्ग भन्दा कम छैन । गलैँचा विच्छाएझैं विशाल हरिया फाँट, मनै लोभ्याउने रङ्गीविङ्गी फूल, आश्चर्य लाग्ने त्यहा“को मौसम सायदै पृथ्वीको अर्काे कुनै कुनामा देख्न सकिन्छ ।

कूल २२ पाटन ५२ झोती भएको नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज पनि हो खप्तड । हिउँद, वर्षा, गर्मी मौसममा भिन्न रुपमा प्रस्तुत हुने खप्तड धेरैका लागि नपुगी नहुने गन्तव्य भएको होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘मनमा भएका अशान्ति हटाउन र प्रकृतिसँग रमाउन भने एक पटक खप्तड घुम्नु अनिवार्य छ ।’

खप्तड राष्ट्रिय निकुञ्जका अनुसार त्यहाँ चार रैथानेसहित १३५ प्रजातिका फूल नियाल्न सकिन्छ । उक्त क्षेत्रमा मात्र २२४ प्रजातिका जडीबुटी, ५३७ प्रजातिका वनस्पति, २७० जातका चराचुरुङ्गी रहेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले राखेको सूचनामा उल्लेख गरिएको छ । यति मात्र नभइ उक्त ठाउँमा सहश्रलिङ्ग, नागढुङ्गा, ताल, दुर्लभ बझाङ्गी भ्यागुता खप्तडले पाएका भिन्नै उपहार पनि हुन् ।

यसरी प्रकृतिले धनी खप्तड क्षेत्र धार्मिक रुपले पनि त्यत्तिकै प्रसिद्ध छ । खप्तडको त्रिवेणी मन्दिर धार्मिक रुपले अत्यन्त महत्वपूर्ण मानिन्छ । गङ्गादशहराका दिन पूजा गरिने त्रिवेणी मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्योसँगै यहाँ रहेको खप्तड बाबाको कुटीको पनि विशेष महत्व रहेको छ ।

भारतको कोलकतास्थित ट्र«पिकल कलेजबाट एमबिबि एस र बेलायतबाट सर्जनको अध्ययन गरेका खप्तड बाबा प्रसिद्ध डाक्टर थिए । सबै कुरामा सन्यास लिएर उनले सन् १९४६ मा खप्तड आई तपस्या गरेको भन्ने विभिन्न किताबमा उल्लेख गरिएको पाइन्छ । खप्तड बाबाले तपस्या गरेको स्थान, उनले प्रयोग गर्ने लुगाकपडा, सर सामग्री र उनको कुटी अहिले पनि सुरक्षित राखिएको छ ।

खप्तडबारे डेढदर्जन पुस्तक लेखेका खप्तड बाबाबारे जान्न बुझ्न चाहनेका लागि पनि एक अध्ययनको क्षेत्र हो खप्तड । समुद्री सतहदेखि दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा अवस्थित खप्तड २२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । कहिले हिउँभित्र लुक्ने त कहिले रङ्गीचङ्गी फूलहरुसँग जिस्कने खप्तड धेरैका लागि अध्ययनको विषय बन्न सक्ने खप्तड पर्यटन विकास मितिका पूर्व अध्यक्ष पूर्णराज जोशीले बताए ।

खप्तडमा प्राकृतिक सुन्दरको आनन्द मात्र होइन धार्मिक आस्था राख्नेहरुका लागि पनि एक महत्वपूर्ण स्थल हो । त्रिवेणी, खापरदह, सहस्रलिङ्ग, नागढुङ्गा, गणेशस्थान जस्ता सांस्कृतिक महत्व बोकेका धार्मिकस्थल पनि खप्तडमा छन् । गङ्गादशहराको बेला खप्तडको त्रिवेणीमा भव्य मेला लाग्ने गर्दछ ।

यस क्षेत्रको समृद्धि बन्न सक्छ खप्तड

पर्यटनका दृष्टिले खप्तड विश्वकै एक आकर्षक गन्तव्य हो । यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने खप्तडको सीमाना जोडिएका सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम र डोटीका चार जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने खप्तड मध्यावर्ती क्षेत्र विकास समितिका पूर्वअध्यक्ष लालबहादुर बोगटीले बताए ।

उनले भने, ‘सुदूरपश्चिमको विकास गर्नु छ भने पहिले खप्तडको विकास गर्न जरुरी भएको छ ।’ खप्तड क्षेत्र पर्यावरणीय र धार्मिक पर्यटकीयसँगै अनुसन्धानकर्ताका लागि समेत उपयुक्त भएकाले वातावरण बनाउन सके खप्तडमा पर्यटकको ओइरो लाग्ने विश्वास स्थानीय समाजसेवी तथा राजनीतिकर्मी नारद मलासीले बताए ।

उनले भने, ‘खप्तडमा पर्यटन विकास गर्न सके अर्बौँ रुपैयाँको कारोवार हुनसक्छ, तर दुर्भाग्य खप्तडमा आउने पर्यटकलाई अहिलेसम्म खाने बस्नेसम्मको न्यूनतम पूर्वाधारसमेत बन्न सकेको छैन ।’ पर्यटन बाहेक खप्तडको जडीबुटी र वनस्पति पनि यहाँका चार जिल्लाको अर्को आयस्रोत बन्दै आएको छ ।

यहाँ औषधिय मूल्य भएका सञ्जीवनी बुटीदेखि अति महत्वपूर्ण खप्तडमा रहेकाले त्यसको सही सदुपयोग हुन जरुरी रहेको अनुसन्धानकर्ता नारायण रुपाखेती बताउँछन् । खप्तड राष्ट्रिय निकुञ्जमा वार्डेनका रुपमा समेत लामो समय काम गरेका रुपाखेती खप्तडको जडीबुटीको मात्र सदुपयोग गर्ने हो भने सिङ्गो सुदूरपश्चिम धान्नसक्ने गरी आर्थिक लाभ लिन सकिने दाबी गर्छन् ।

खप्तडको प्रचारप्रसार र पर्यटकीय विकासका लागि विसं २०६३ मा खप्तड पर्यटन विकास समितिको गठन भएको थियो । त्यसयता झण्डै रु २२ करोड विकास समितिमा आइसकेको छ । तर अहिलेसम्म पर्यटकलाई खाने बस्नेसम्मको व्यवस्था खप्तडमा गरिएको छैन । खप्तडको बीचपानी र पाटनमा दुई वटा गेष्ट हाउस बनाइएका भए पनि ती गुणस्तरहीन भएकाले पाहुना बस्न नमानेको स्थानीयवणसीको आरोप रहेको छ ।

खप्तड समितिले सास्ती दियो

विसं २०६१ मा खप्तड मध्यावर्ती क्षेत्र गठन भएको हो । त्यसका संस्थापक अध्यक्ष लालबहादुर बोगटी छन् । खप्तडको मध्यावर्ती क्षेत्र अन्तर्गत चार जिल्लाका तत्कालीन २१ गाविस रहेका थिए । खप्तड राष्ट्रिय निकुञ्जले गरेको आम्दानीमध्ये ५० प्रतिशत रकम मध्यावर्ती क्षेत्रका बासिन्दाका लागि खर्च गर्नुपर्ने नियम रहेको छ । तर निकुञ्जको आम्दानी न्यून रहेका कारण विकास हुन नसकेको खप्तड पर्यटन विकास समितिले जनाएको छ ।

निकुञ्जबाट आएका वन्यजन्तुले किसानले लगाएका खेतीपाती खाइदिने र मान्छेलाई आक्रमण गर्ने गरेकाले यहाँका स्थानीयवासी बढी निराश हुँदै आएका छन् । खप्तड निकुञ्ज भएकाले आफ्ना बस्तुभाउलाई चरिचरनका लागि पनि समस्या भएको सायल गाउँपालिका–१ दौडका स्थानीयवासी तेजबहादुर सिंहले बताए । उनले भने, ‘निकुञ्जका वन्यजन्तुले हाम्रो खेतीबाली खाएर नोक्सान गर्छन, हाम्रो बस्तुभाउ निकुञ्जमा चर्न पाउदैनन्, त्यो भन्दा ठूलो समस्या के हुने ।’

कसरी पुग्ने खप्तड ?

काठमाडौंबाट बसमा ६५० किलोमिटर दुरी यात्रा गरेपछि करिब १४ घण्टामा कैलालीको धनगढी पुगिन्छ र धनगढीबाट डोटीको सिलगढी २०० किलोमिटर अर्थात ८ घण्टाको गाडी यात्रापछि पुगिन्छ । सिलगढीबाट शुरु हुन्छ खप्तडको यात्रा ।

त्यसैगरी जहाजमा आउनेका लागि काठमाडौँंबाट धनगढी एक घण्टा हवाई यात्रा गर्ने र त्यहाँबाट गाडीमा सिलगढी आउन सकिन्छ । डोटी सदरमुकाम सिलगढीबाट अहिले झिग्रानासम्म गाडी पाइन्छ । खप्तड जाने यात्रुहरुको पहिलो बास झिग्राना र झिग्रानाबाट भोलिपल्ट ८ घण्टा पैदल यात्रागरी निकुञ्जको मुख्यालय पुगिन्छ ।

झिग्रानाबाट भरीयासमेत पाइने गर्छन् । खप्तडको मुख्य प्रवेशद्वार जिल्ला सदरमुकाम सिलगढी हो । डोटी सदरमुकाम सिलगढीबाट हिँडेर जाँदा पहिलो बास झिग्रानामा बसिन्छ । त्यहाँ सामान्य खालका होटल छन् । झिग्रानाबाट चार घण्टामा बीचपानी र ८ घण्टामा निकुञ्ज प्रवेश गरेपछि पुगिन्छ मनोरम खप्तड ।

खप्तड क्षेत्रमा प्रायः स्वदेशी अर्थात आन्तरिक पर्यटक र विदेशीमध्ये भारतीय नागरिक बढी आउने गरेका छन् । खप्तड क्षेत्रमा खासगरी फागुनदेखि जेठ महिनासम्म अवलोकन भ्रमण गर्दा पर्यटकलाई सजिलो हुने गर्दछ ।

वर्षातको समय अर्थात असारदेखि कात्तिकसम्म खप्तडमा निकै हरियाली हुने भए पनि बाटोको समस्या तथा विष लाग्ने भएका कारण खप्तडमा खासै पर्यटक नआउने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । पछिल्लो समय खप्तड आउने पर्यटकको सहजताका लागि सरकारी लगानीमा झिग्रानामा घरवास (होमस्टे) समेत निर्माण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्