अन्तर्राष्ट्रिय अनलाइन भिडियो पुम्से च्याम्पियनसिपमा नेपाललाई चार स्वर्णसहित २१ पदक


८ श्रावण २०७७, बिहीबार
9c20d8b0ea31348d37d96449542fbdc4 w1000 h500 cp

काठमाडौं, ८ साउन । अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाक बेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्य पदक जितेको छ ।

नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन । १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । पुरुष ३० वर्ष उमेर समूहको विधामा कमल पहिलो बने ।

जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जीतबहादुर बोट र प्रेमबहादुर लिम्सोले कास्यपदक हात पारे । जीत र प्रेम १३ औं सागका कास्य विजेता हुन् ।

महिला ३० वर्षको विधातर्फ पार्वती पहिलो भइन् । सो विधामा नेपालकी सञ्जिला तिमल्सिनाले कास्यपदक जितिन् । यसैगरी सात वर्ष मुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते । सो विधामा निकुन प्रतिद्वन्द्वीबिहीन थिए । एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर जोडे ।

महिला नौ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन् । पुरुष नौ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कास्य पदक हात पारे । ११ वर्षमुनिको विधाअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य पदक प्राप्त गरे ।

महिला १४ वर्षमुनिको विधातर्फ सन्ध्या लामाले तेस्रो स्थान हासिल गरिन् । १७ वर्षमुनि पुरुषमा दीपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्यपदक पाए ।

त्यस्तै ४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्यपदक हात पारे भने ५० वर्षको विधामा मधुसुदन सापकोटा र पर्शुनाराण बोहरा कास्यमा सीमित भए । ६० वर्ष उमेर समूहमा फणिन्द्र खड्काले रजत हासिल गरे ।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो सङ्घ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्य दृष्यलाई विश्व तेक्वान्दो महासङ्घबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरिएको हो । नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । १३ औं संस्करण उक्त प्रतियोगिता अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७