कोरोना संक्रमणको उच्च जोखिममा प्रदेश-२, एक सातामा दुईको मृत्यु

प्रदेश–२ मा हालसम्म आठ जनाको मृत्यु, भिटिएम अभाव


९ श्रावण २०७७, शुक्रबार
xrajbiraj2020 07 22 08 41 33.jpeg.pagespeed.ic .O4jko6qZmZ

जनकपुर, ९ साउन । कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ ।

एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो । त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चार जनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिए । कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ ।

सुनसान राजविराज

सङ्क्रमण समुदायमा फैलिने सम्भावना देखेपछि बिहीबारदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेपछि आज दोस्रो दिन राजविराज बजार सुनसान देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाभर अर्काे आदेश नभएसम्मका निषेधाज्ञा जारी गरेको हो । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवतजावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यसेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवा बाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावतमा निषेध गरिएको सूचनामा उल्लेख छ ।

भिटिएमको अभाव
सप्तरीको राजविराजमा कोरोना सङ्क्रमण तीव्ररुपमा फैलिरहेका बेला स्वाव सङ्कलनका लागि आवश्यक पर्ने भिटिएम अभाव भएको छ ।

जनस्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले गत, बुधबार प्रदेशको आपूर्ति केन्द्रले २५० भिटिएम पठाए पनि अभाव कायमै रहेको बताए । कोरोना सङ्क्रमणको अवस्था, शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव सङ्कलनका लागि तत्काल ५०० भिटिएमको आवश्यता प्रमुख यादवले बताए ।

पर्साको सदरमुकाम वीरगञ्जमा बिहीबार ७० वर्षीय एक व्यक्तिको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएपछि वीरगञ्जमा पनि कोरोनाको सङ्क्रमण समुदायमा फैलिन डर देखिन थालिएको छ ।

मृतकका परिवारिक स्रोतले कही पनि घुमघामका लागि बाहिर नगएको अवस्थामा कसरी कोरोना सङ्क्रमण देखिएको जानकारी गराएपछि समुदायमा कोेरोना फैलिएको भन्ने डर देखिएको हो । मुलुकमा बन्दाबन्दी हटेको भए पनि कोरोनाबाट जोगिनका लागि सामाजिक दूरी कायम राख्नुपर्ने, भीडभाड नगर्ने र स्यानीटाइजर र साबुनपानीले हात धुनेतर्फ बढी सचेत रहनुपर्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७