नेकपामा फेरि किचलो : ओलीको राजीनामाको मागलाई नै निरन्तरता


१० श्रावण २०७७, शनिबार
prachand nepal khanal

काठमाडौं, १० साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे ।

त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिंडे । त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए ।

दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे । यसले नेकपामा किचलो कायमै रहेको देखाएको छ ।

दाहाल र नेपाल दुवै जना ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । दुवै नेता नेकपाका अर्का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा ललितपुरको कुम्भेश्वरमा आयोजित कार्यक्रममा पनि सँगै थिए । दाहाल र नेपालले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन् ।

गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए । त्यसले नेपालसँगको सम्बन्धमा अविश्वास पैदा गरेको थियो ।

दाहाल र नेपालले शुक्रबार भने प्रधानमन्त्री ओलीले आफूलाई मात्र राष्ट्रवादी देखाउन खोजेको, पार्टीको सामूहिक निर्णय नमानी पार्टीको अधीनस्थ सरकार सञ्चालन गर्ने कम्युनिस्ट पार्टीको बाटोविपरीत हिंड्न थालेको आरोप लगाए ।

‘तथाकथित एकताको माला जपेर एकता हुने होइन’, दाहालले भने, ‘संघर्षबाट एकता मात्रै प्राप्त हुन्छ भन्ने जरुरी छैन। एकता संघर्ष र रूपान्तरण, नयाँ आधारमा नयाँ एकता हासिल गर्ने विधि पद्धति र सोच अवलम्बन गर्नुपर्छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७