नेकपाले पहिरो पीडितको ६० घर निर्माण गर्ने


१० श्रावण २०७७, शनिबार
nekapa 20200122010014

लमजुङ, १० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मस्र्याङ्दी गाउँ कमिटीले पहिरो पीडितहरुको घर निर्माण गर्ने भएको छ । गाउँ कमिटीले श्रम शिविर सञ्चालन गरेर मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका पहिरो पीडितहरुको घरटहरा निर्माण गर्ने निर्णय गरेको हो ।

गाउँ कमिटीका अध्यक्ष धनसिंह तामाङले भने, “पहिरो पीडितहरुको घर निर्माणको लागि जस्तापाता, बाँस, काठपात प्रयोग गरी घर निर्माण गर्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई तीन दिनसम्म श्रम शिविरमा खटाइने निर्णय गरेका छौँ ।’

पहिरो पीडितहरुको घर निर्माण गर्न उनीहरुको सहयोगका लागि प्रत्येक वडा कमिटी, शिक्षक सङ्घठन, निजामती कर्मचारी सङ्गठनलाई आर्थिक सहयोग सङ्कलनको जिम्मा दिएको छ ।

गाउँपालिकाको वडा नं. १ लाई रु २५ हजार, वडा नं. २ लाई रु ५० हजार, वडा नं. ३ लाई रु ७५ हजार, वडा नं. ४ लाई रु २५ हजार, वडा नं. ५ लाई रु २५ हजार, वडा नं. ६ लाई रु २५ हजार, वडा नं. ७ लाई रु ५० हजार, वडा नं. ८ लाई रु ७५ हजार र वडा नं. ९ कमिटीलाई रु ७५ हजारका दरले सहयोग सङ्कलन गर्न गाउँ कमिटीले जिम्मेवारी तोकेको पार्टीको गाउँ कमिटीका अध्यक्ष तामाङको भनाइ छ ।

उनका अनुसार शिक्षक सङ्गठनसँग रु एक लाख तथा निजामती कर्मचारी सङ्गठनसँग रु २५ हजार सहयोगको अपेक्षा गरेका छौँ । नेकपा गाउँ कमिटीले विपद् व्यवस्थापन समिति गठन गरी राहत वितरण तथा स्थानान्तरणको कार्य प्रभावकारी बनाउनुपर्ने भन्दै गाउँपालिकालाई अनुरोध गरेको छ । पहिरो पीडितका लागि स्थायी बसोबासका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग माग गरेको छ । गत बुधबार र बिहीबार अर्थात ७ र ८ गते गरी आएको कपासेखोला पहिराले यस पल्लोटारी गाउँका २१ घर पुरिएको थियो भने आठ घर आधा भत्केको छ । अन्य ५३ वटा घरहरुसमेत उच्च जोखिममा रहेका छन् । पहिराबाट गाउँ नै विस्थापित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७