काष्ठमण्डपमा राखियो धुरी, सातौं शताब्दीको प्रविधिबाट पुनर्निर्माण हुँदै


११ श्रावण २०७७, आईतवार
3f5c4ba44f2533b0cae87f7cafb51839 w1000 h500 cp

काठमाडौं, ११ साउन । ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्व सम्पदा सूचिमा सूचीकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।

धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न भएको हो ।

पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनर्निर्माणमा केन्द्रित हुने र निर्माण–पुनर्निर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिए ।

आर्थिक वर्ष २०७७–७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

सोही अवसरमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनर्निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । विसं २०७५ वैशाखबाट पुनर्निर्माणको शुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे ।

उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौं शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनर्निर्माण गरिरहेको जानकारी दिए । ‘सातौं शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौं’, उनले भने, ‘जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा रु ५० लाख, दोस्रो र तेस्रो चरणमा रु पाँच–पाँच करोड दिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ ।

उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौं शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको हो ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए । सातौं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७