उपप्रधानमन्त्री पोखरेललाई अमेरिकी राजदूतको प्रश्न : एमसिसीको आन्तरिक तयारी कहाँ पुग्यो ?


११ श्रावण २०७७, आईतवार
beri

काठमाडौं, ११ साउन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले फेरि चासो व्यक्त गरेको छ ।

आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले एमसिसीका विषयमा भइरहेको आन्तरिक तयारी कहाँ पुग्यो भन्ने चासो राखेका छन् ।

सत्तारुढ दल नेकपाकै नेताहरू एमसिसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भइरहेका बेला राजदूत बेरीले उपप्रधानमन्त्री पोखरेललाई भेटेर एमसिसी पारित गर्ने विषयमा चासो राखेका हुन् ।

एमसिसी गत १६ जेठमा संसदबाट पारित गर्ने गरी तालिकामा रहेको भए पनि पारित हुन नसकेपछि यसबारे अबको कदमबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर चासो राखेको स्रोतले जानकारी दिएको छ ।

भेटमा राजदूत बेरीले एमसिसीको विषय के भइरहेका छ ? भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले जानकारी दिएका छन् ।

भेटमा बेरीले विश्वका अन्य देशहरूबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ ? भन्दै चासो राखेको सहसचिव सुनारले बताएका छन् । भेटमा रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको जानकारी गराएका थिए ।

उनले एमसिसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेकाले यसबारे निर्णय लिन ढिलाइ भएको राजदूत बेरीलाई जानकारी गराएका थिए । राजदूत बेरीले नेपालमा कोरोना नियन्त्रणका लागि गरिरहेका कामहरुको बारेमा समेत चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७