सामाजिक सुरक्षा भत्ताबारे गेसोको रिटमा कारण देखाउ आदेश


११ श्रावण २०७७, आईतवार
geso 1

काठमाडौं, साउन ११ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा विभेदकारी नीति लिइएको भन्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले यही साउन ५ गते नेपाल सरकारविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

आइतबार उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरी १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिएको हो ।

मुद्दामाथि भएको प्रारम्भिक सुनुवाईमा सर्वोच्च अदालतले आज सो आदेश दिएको गेसोले जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो आदेश दिएको हो । साथै सो मुद्दामा यही साउन १८ गते वादी र प्रतिवादी दुवै पक्षलाई अदालतमा झिकाइएको छ । गेसोका तर्फबाट वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विजयकान्त मैनालीले सो मुद्दामा बहस गरेका थिए ।

आन्तरिम आदेश सम्बन्धमा साउन १८ गते रिट निवेदकका कानून व्यवसायी र सरकारी पक्षको वहसपछि निर्णय समेत हुने बताइएको छ ।  ज्येष्ठ नागरिक (सिनियर सिटिजन) लाई सम्मानस्वरूप दिँदै आएको सामाजिक सुरक्षा भत्ता कुनै प्रकारले नियमित रुपमा पारिश्रमिक, निवृतिभरण, अवकाश सुविधा लिएकाको हकमा कटौती गर्ने सरकारको निर्णय विरुद्ध गेसोका केन्द्रीय सभापति कृष्ण कुमार राईको नेतृत्वमा कानूनी कदम चालिएको थियो ।


आफ्नो न्यायिक अभियानमा सहकार्य गरिरहेका भारतीय भूतपूर्व सैनिक,सिंगापुर पुलिस,वरिष्ठ अधिवक्ता,अधिवक्ता, सञ्चारकर्मी तथा सबैमा गेसोले एक विज्ञप्ति जारी गर्दै आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७