काठमाडौंमा एकै परिवारका पाँच संक्रमित


१२ श्रावण २०७७, सोमबार
korona 1

काठमाडौं, १२ साउन । काठमाडौं महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ ।

स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन् । सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो । पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन ।

उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।

शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा. राजभण्डारीले बताए । नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

डा. राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षण समेत देखिएको छ । ‘स्वास्थ्य अवस्था सामान्य छ । दुई जनामा सामान्य खोकी छ । अन्य लक्षण देखिएको छैन’, डा. राजभण्डारीले भने ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको बताए । ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएपछि सबै जना झन् बढी सतर्क र सजग हुनुपर्छ’, उनले भने, ‘हेलचेक्र्याइँ गर्नु भएन । कोरोना नियन्त्रणमा चुनौती बढ्छ ।’

परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । यसअघि बाँकेमा एकै परिवारका दुई जनामा कोरोना देखिएको थियो । नेपालमा माघ ९ गते पहिलो संक्रमण फेला परेको थियो । परिवारका सबै सदस्यमा संक्रमणले समुदायमा फैलिने सम्भावना प्रबल देखिएको एक जनस्वास्थ्यविद्ले बताए ।

नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । यीमध्ये १३ हजार १ सय २८ जना निको भएका छन् । कोरोनाबाट ४५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७