राजु सदा मृत्यु घटना : छानविन समिति कागजमै सीमित, दोषीलाई कारबाही माग गर्दै प्रदर्शन


१२ श्रावण २०७७, सोमबार
Raju Sada janakpur2020 07 27 06 03 26

जनकपुरधाम, १२ साउन । समयमा उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएका धनुषाका राजु सदालगायत विभिन्न घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै विभिन्न जिल्लामा अर्धनग्न प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिको अगुवाइमा आइतबार प्रदर्शन गरिएको हो ।

धनुषाको हंशपुर नगरपालिका–७ पर्साहीका राजु सदाको ९ असारमा प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । त्यस्तै, सबैला नगरपालिका–१२ बरकुर्वाका शम्भु सदाको २८ जेठमा सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएको थियो ।

यीलगायत विभिन्न घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै धनुषा, सर्लाही, सिराहा र सप्तरीका विभिन्न स्थानमा सामूहिक प्रदर्शन गरिएको हो । जनकपुरमा जनक चोकबाट निस्केको अर्धनग्न जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेको थियो ।

जनक चोकमा आयोजित कोणसभामा दलित समुदायका अगुवाले एक महिना बितिसक्दा पनि घटनाको छानबिन नभएको, दोषीलाई बचाउन खोजेको भन्दै विरोध जनाए । एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाए पनि अहिलेसम्म छानबिन नभएको उनीहरूको भनाइ थियो । उनीहरूले दोषीलाई बचाउन खोजेको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी रहने संयुक्त दलित संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले बताए । समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

जसमा १३ साउनमा प्रत्येक जिल्ला सदरमुकाममा थाली तथा सिटी जुलुस प्रदर्शन निकालेर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिने, १५ साउनमा मृदंग बजाउने र पोस्टर टाँस्ने, प्रशासन कार्यालयअगाडि धर्ना दिने र १८ साउनमा प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन बस्नेलगायत आन्दोलनका कार्यक्रम रहेका छन् ।

छानबिन समिति कागजमै सीमित

राजु सदाको मृत्यु घटना छानबिनका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले १० असारमा स्वास्थ्य निर्देशक हरिचन्द्र साहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । एक साताभित्र छानबिन प्रतिवेदन बुझाउन म्याद दिइएकोमा अहिलेसम्म छानबिन प्रक्रिया नै सुरु गरेको छैन ।

समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयका उपसचिव डा. नवलकिशोर झाले पनि अहिलेसम्म छानबिन सुरु नभएको स्वीकार गरे । डा. झाले भने, ‘अहिलेसम्म छानबिन सुरु भएको छैन । कहिले सुरु हुने हो, त्यो संयोजक ज्यूलाई नै थाहा हुन्छ ।’

त्यस्तै, प्रदेश २ सभाले पनि पाँच सदस्यीय सर्वदलीय छानबिन समिति गठन गरेको थियो । १४ जेठमा नेकपा सांसद रवीन्द्र बैठाको संयोजकतत्वमा गठित समितिलाई पाँच दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय तोकिएको थियो ।

संसदीय समितिले पनि अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन । समिति सदस्य चमेलीदेवी दासले प्रतिवेदन लगभग तयार भएको बताइन् । ‘प्रतिवेदन लगभग तयार भइसकेको छ, तर संयोजकज्यूले के कारण बुझाउन ढिलाइ गरिरहनु भएको छ, त्यो थाहा भएन,’ उनले भनिन् ।

प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पनि छानबिन सुरु नगरेको विषयमा आफूलाई थाहा नभएको बताए । मन्त्री झाले भने, ‘छानबिन समिति त गठन गरियो, तर के कारण समितिले छानबिन गरेनन्, त्यो थाहा भएन ।’ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे सरुवा भएपछि काम गर्न कठिनाइ भएको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७