नेकपा विवाद नयाँ मोडमा, ‘ओली सहमतिमा नआए बहुमतबाट निर्णय’


१२ श्रावण २०७७, सोमबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, १२ साउन । लामो समयदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नयाँ विवाद नयाँ मोडमा आइपुगेको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक छलफल भए पनि विवादले निकास पाउनको सट्टा झन पेचिलो बन्दै गइरहेको छ ।

पटक–पटकको छलफल निष्कर्षहीन बन्दै गएको र पछिल्लो समय दुई अध्यक्ष ओली–प्रचण्डबीच दोषारोपणको अवस्थामा संवाद टुटिरहेका बेला नेकपाभित्र विवाद बहुमतीय प्रक्रियामा जाने संकेत देखिएको छ ।

साउन ६ गते एक हप्ताका लागि स्थगित गरिएको नेकपाको स्थायी समिति बैठक भोलि (मंगलबार) बस्दैछ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि औपचारिक रुपमा दुई अध्यक्षबीच सहमति हुन नसकेपछि बहुमतीय प्रक्रियामा जाने देखिएको हो ।

स्थायी कमिटीको बैठकबाट कुनै निर्णय नभए अब बहुमतीय प्रक्रियाका आधारमा निर्णय हुने नेकपा वरिष्ठ नेता झलननाथ खनाल बताउँछन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा नदिए बहुमतीय प्रक्रियाका आधारमा निर्णय गरिने उनले बताएका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा प्रचण्डको अध्यक्षतामा बैठक अगाडि बढाउने समझदारी भएको खनालले जानकारी दिएका छन् ।

‘भोलिको लागि तय गरिएको बैठक बस्छौं’, खनालले भने, ‘पार्टी एउटा निर्णयमा पुग्नै पर्ने हुन्छ, त्यसमा बहुमतको कुरा मान्नै पर्ने हुन्छ ।’

jhalanath khal
नेकपा वरिष्ठ नेता झलनाथ खनाल

उनले मंगलबारका लागि तय गरिएको बैठक निर्णायक हुन सक्ने पनि बताएका छन् । ‘पहिला छलफल हुन्छ, त्यसमा कुनै सहमति नभए नयाँ निर्णय गरेर जानुपर्छ’, उनले भने, ‘त्यसका लागि परिस्थिति हेरेर निर्णय हुनेछ ।’

वरिष्ठ नेता खनालले मंगलबारका लागि तय भएको बैठक बस्नैपर्ने अडानमा आफूहरु रहेको बताएका । ‘प्रधानमन्त्री ओलीले आफै छानेर दुईमध्ये एक पदबाट राजीनामा दिए राम्रै हो, नत्र पार्टीले हटाउने बारेमा निर्णय गर्छ’, खनालले भने ।

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग भएपछि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। उनी पनि आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेताहरुसँगको छलफललाई तीव्रता दिइरहेका छन् ।

तर, कार्यकारी अध्यक्ष प्रचण्ड भने सहमतिको पक्षमा रहे पनि नेपाल–खनाल समूहको दबाबमा रहेका छन् । सहमतिका लागि भन्दै साउन ९ गते प्रचण्डले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । असार १० गते बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालन गर्न असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

अहिले दुवै पक्षका नेताहरु आ–आफ्नो रणनीति निर्माणमा जुटिरहेका छन् । ओली पक्षले जसरी पनि पार्टीलाई महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार गरिरहेका छन् । सचिवालयमा प्रधानमन्त्री ओलीले महाधिवेशनको प्रस्ताव गरेका छन् । सचिवालयमा निर्णय गराएर स्थायी कमिटीमाबाट पारित गराएर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको सोच रहेको छ ।

ओली निटक नेता स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘विचार र विधिको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अहिलेको विवाद कुर्सी केन्द्रित देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७