पार्टीलाई फुटबाट जोगाउन नेकपाका दुई अध्यक्षलाई उपाध्यक्ष बामदेव गौतमको ६ सुझाव


१३ श्रावण २०७७, मंगलवार
bamdev gautaam

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिल्ने भन्दा फुटको दिशातिर आकर्षित हुन थालेको छ ।

आज बस्ने भनिएको स्थायी कमिटी वैठक नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले अनिश्चितकालका लागि स्थगित गरेपछि पार्टीभित्रको विवादमा झन घ्यु थप्ने काम भएको छ ।

पार्टीभित्रको विवाद हल गर्न दुई अध्यक्ष ओली–प्रचण्डबीच पटक–पटक छलफल भए पनि समस्याले निकासको बाटो समात्नुको सट्टा झन कटुता र संवादहीनताको अवस्था सिर्जना गरेको छ ।

प्रचण्डले ‘जबज’ आत्मसात गरेको खण्डमा महाधिवेशनपछि एकल अध्यक्ष बनाउन सकिने ओलीले बताएपछि दुई अध्यक्षबीचको विवाद आरोप–प्रत्यारोपमा आइपुगेको छ । अध्यक्ष ओलीले नेकपा अध्यक्ष र प्रधानमन्त्री दुईमध्ये एक छाड्नु पर्ने प्रचण्ड–माधव नेपाल समूहका नेताले बताइरहेका बेला ओली दुबै पद नछाड्ने अडानमै छन् ।

नेकपाका दुई अध्यक्षबीचको विवादका कारण पार्टी नै फुटको संघारमा पुगेपछि नेकपा उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षलाई विभिन्न ६ बुँदे सुझाव दिएका छन् ।

गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका छन्।

आज (मंगलबार) का लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित एकाएक स्थगित भएपछि उपाध्यक्ष गौतमले विवाद समाधानका लागि सहयोग पुर्‍याउन भन्दै सुझाव राखेका हुन् ।

गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन् । पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ ।

गौतमले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन् । ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भनेका छन्, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने ।’

गौतमले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन् । ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने,’ उनले भनेका छन् ।
हेर्नुस् नेकपा उपाध्यक्ष गौतमले दुई अध्यक्ष ओली–प्रचण्डलाई दिएका सुझाव

bb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७