प्रचण्डको ब्रिफिङ : दुई अध्यक्षात्मक प्रणालीमाथि ओलीले धावा बोल्नु भयो


१३ श्रावण २०७७, मंगलवार
pra

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगे ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालसहितका नेतासहित पुगेका प्रचण्ड र ओलीबीच केहि समय छलफल भयो । त्यस लगतै अध्यक्ष प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी वैठक अगाडि बढेको बताइएको छ ।

ओलीले एक पक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि नेकपामा विवाद थप चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका स्थायी कमिटीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेको बताइएको छ । अहिले प्रचण्डले बैठकका लागि बालुवाटार पुगेका नेताहरुलाई ब्रिफिङ गरिरहेका छन् ।

अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटीको निरन्तरता नभई बहुमत सदस्यहरुको बैठक भनी बालुवाटारमा बैठक अगाडि बढाएका छन् । पार्टीमा दुर्घटना हुन नदिन त्यसो गरिएको प्रचण्डले सो बैठकमा जानकारी गराएका छन् ।

‘त्यहि बैठकको निरन्तरता भन्दा दुर्घटना हुनसक्ने सम्भावना भएकोले त्यसो नभनी बहुमत सदस्यहरुको बैठक भनौं भनी अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गर्नु भएको छ,’ सहभागी एक स्थायी कमिटी सदस्य भन्छन्, ‘अध्यक्ष ओलीले दुई अध्यक्षात्मक प्रणालीमाथि धावा बोल्नु भयो, उहाँले जसरी स्थगित गर्नुभयो त्यो बैधानिक छैन भनी प्रचण्डले भन्नु भयो ।’

यता नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने स्थायी कमिटी वैठक स्थगितपछिको छलफल कुनै औपचारिक वैठक नभएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले स्थायी कमिटी वैठक स्थगित भएपछिको छलफल कुनै औपचारिक वैठक नभई ब्रिफिङ मात्र भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७