नेकपा विवाद : दुवै समूह शक्ति परीक्षणमा


१४ श्रावण २०७७, बुधबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, १४ साउन । सहमति जुटाउने एक महिनादेखिको प्रयास असफल र अविश्वासमा बदलिएपछि सत्तारुढ दल नेकपामा औपचारिक रूपमा शक्ति–परीक्षण सुरु भएको छ ।

पार्टीको स्थायी कमिटी बैठक स्थगित वा सञ्चालनमा दुई समूहबीच विवाद भएको छ । र, सहमति नभएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका छन् । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहका नेताले बहिष्कार गरेका छन् ।

नियमित एजेन्डामा प्रवेश नगरी छलफल सकिए पनि ओलीको असहमतिबीच सम्पन्न स्थायी कमिटीको बैठकपछि नेकपाको शक्ति–संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । स्थायी कमिटी बैठक सुचारु गर्ने गरी छिट्टै नयाँ सहमति नभए अल्पमत–बहुमतको शक्ति–परीक्षणका लागि केन्द्रीय कमिटी र संसदीय दलतिर शक्ति–संघर्ष उन्मुख हुने ढोका खुलेको छ । यससँगै नेकपा नेताहरूले विभाजन हुन नदिन गम्भीरतासाथ होसियारी अपनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीको एकल निर्णयमा मंगलबारको बैठक स्थगित गरेपछि असन्तुष्ट बनेको दाहाल–नेपाल समूहले बालुवाटारमै बैठक गरेका हुन् । बहुमत सदस्य बालुवाटारमा भेला गरेर प्रचण्ड–नेपाल समूहले ओली समूहमाथि दबाबको राजनीति बनाएको छ । साथै यो समूहले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाए बहुमतबाट ठोस निर्णय लिन सकिने सन्देश दिएको छ । यद्यपि ओली समूहले प्रचण्ड–नेपाल समूहको बैठकलाई मान्यता दिएको छैन ।

एक व्यक्ति : एक जिम्मेवारीको नीति लागू गर्न प्रधानमन्त्री ओलीलाई एक पद छाड्न दबाब दिँदै आएको प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरूको बैठक सम्पन्न गरेर बैठक स्थगित गर्ने ओलीको कदमको आलोचना गरेको छ । मंगलबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जालमार्फत बैठक स्थगित भएको सूचना बाहिर ल्याएका थिए ।

११ बजे बोलाइएको बैठक अचानक स्थगित भएपछि प्रचण्डले खनालसँगै प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न जाने प्रचण्डको प्रस्तावमा नेपाल भने गएका थिएनन् ।

बैठक सञ्चालन गर्न प्रधानमन्त्री ओली तयार नभएपछि प्रचण्ड–नेपाल समूहका बहुमत सदस्यले बैठक गरेका थिए । बैठकमा ४४ सदस्यीय स्थायी कमिटीका २८ नेता सहभागी थिए । प्रचण्ड–नेपाल समूहका नेताहरूको बैठक चलिरहेका वेला ओलीले बालुवाटारमै आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग परामर्श गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित उनीनिकट १० तथा पूर्वमाओवादी समूहका चारसहित १५ जना नेता सहभागी भएनन् । पूर्वमाओवादी समूहका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र नेताहरू टोपबहादुर रायमाझी र मणि थापा बाहेक प्रचण्डनिकट १६ तथा वरिष्ठ नेता माधवकुमार नेपाल १२ र मंगलबार प्रधानमन्त्री ओलीको समर्थनमा खुलेका उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी थिए । त्यस्तै, आमन्त्रित सदस्यका रूपमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ सहभागी थिए ।

बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरेको निर्णय उचित नभएको निष्कर्ष निकालेको थियो । त्यस्तै, बैठकले पार्टी एकता र विधि तथा परम्परालाई ध्यानमा राखेर अर्का अध्यक्ष ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मेवारी दिएको छ । यद्यपि, बैठक सुरु नहुँदै उपस्थित महासचिव विष्णु पौडेलले माइन्युटिङ साथमा लिएर गएका कारण माइन्युटमै निर्णय उल्लेख गरिएको छैन । महासचिवपछि ओलीनिकट नेता रघुवीर महासेठ पनि बैठकबाट निस्केका थिए ।

‘जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष ओली एक्लैले स्थगित भएको सूचना जारी गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरी बैठक सुचारु गर्न अर्का अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्‍यो,’ निर्णयका लागि बैठकबाट पारित प्रस्ताव उद्धृत गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । त्यस्तै, बैठकले पार्टी एकताको रक्षा गर्न, विधि र पद्धतिसम्मत ढंगले अघि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउन सबै नेता–कार्यकर्ता र सदस्यलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न पनि आग्रह गरेको छ ।

सोमबार प्रचण्डनिवासमा बसेको समूहको बैठकले स्थायी कमिटी सुचारु गर्ने, नियमित एजेन्डामा छलफल गर्ने र ओली सहमतिमा नआए बैठकबाटै प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्न निर्देशन दिने रणनीति बनाएको थियो । त्यसको अर्को दिन ओलीले एकतर्फी रूपमा बैठक स्थगन गरेका हुन् ।

ओली समूह अहिलेसम्म पूर्ववत् अडानमा कायमै छ । ओलीनिकट नेता प्रदीप ज्ञवालीले भने, ‘एक व्यक्ति : एक पद अहिले कार्यान्वयन गर्न सम्भव छैन । महाधिवेशनमा गएर एकता प्रक्रिया पूरा भयो, अब हामी सामान्य लेनिनवादी संगठनात्मक ढाँचामा फर्कियौँ भन्न सकिन्छ । त्यसअगाडि नै अहिलेका प्रबन्ध भत्काउनु भनेको वस्तुतः एकताको आधार नै भत्काउनु हो ।’
फोन इन्कारपछि छलफल, त्यसपछि बैठक

ओली र प्रचण्डबीच स्थायी कमिटी बैठकअघि बिहान ९ बजे छलफल गर्ने तय भए पनि खुमलटारमा सचिवालयका निकटस्थ सदस्यहरूसँग छलफल सकेर ढिला गरेर मात्र प्रचण्ड बालुवाटार पुगेका थिए । तर, १० बजेसम्म प्रचण्ड बालुवाटार नपुगेपछि ओलीले बैठक स्थगनको सूचना केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालमार्फत एकतर्फी सम्प्रेषित गर्न लगाएका थिए ।

त्यही सूचनाका कारण बैठकबारे अन्योलमा परेका थुप्रै सदस्य पूर्व निर्धारित समयभन्दा केही ढिला गरी बालुवाटार पुगेका थिए । बहुमत सदस्यको उपस्थितिपछि प्रचण्डले फोनबाटै बैठक सुरु गर्न उपस्थितिका लागि आग्रह गरे पनि ओलीले अस्वीकार गरेका थिए ।

तर, अधिकांश नेताले बैठक सुरु गर्नुअघि एक पटक ओलीलाई भेटेरै आग्रह गर्न सचिवालयका नेताहरूलाई आग्रह गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पुरानै कुरा दोहोरिने निश्चित रहेका कारण जानुको औचित्य नहुने भन्दै अस्वीकार गरे ।

‘मैले र झलनाथ कमरेडले भेटेर उहाँलाई बैठकमा आउन आग्रह गर्‍यौँ, तर उहाँ (प्रधानमन्त्री) ले मान्नु भएन । तपाईंहरूले जे गर्नुपर्ने हो गर्नुस्, तपाईंहरूले गरेपछि म पनि जे गर्नुपर्ने हो त्यही गर्छु,’ प्रचण्डले फर्किएर बैठक सुरु गर्नुअघि सुनाएको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले नयाँ पत्रिकासँग भने । त्यसपछि बैठक सुरु भएको थियो ।

नियमित एजेन्डामा प्रवेश नगर्ने, तर बैठक मान्ने सहमति

बैठक सुरु गर्नुअघि सहभागी नेताहरूबीच बैठक मान्ने कि नमान्ने केहीबेर छलफल भएको थियो । उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्ष अनुपस्थित रहेका कारण भेला मानेर जानु उचित हुने धारणा राखेका थिए भने घनश्याम भुसालले पनि नियमित एजेन्डामा छलफल नगर्ने गरी अनौपचारिक बैठकका रूपमा भेलाकै अर्थमा सम्पन्न गर्नु उचित हुने धारणा राखेका थिए ।

‘उपस्थित साथीहरूका बीचमा बैठक भन्ने कि नभन्ने कुरा चलेको हो, वामदेव कमरेडको बैठकभन्दा पनि भेलाभन्दा उपयुक्त हुने सुझाब थियो, तर अरू धेरैजसो साथीले जतिजना भए पनि बैठक त हो भनेपछि बैठक मान्ने सहमति भएको हो,’ स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘कतिपय साथीहरूले बैठक नियमित एजेन्डामा प्रवेश गरेर आज, भोलि, पर्सि गरौँ भन्नुभएको थियो, तर हामीले त्यसो नगरौँ, एकताका लागि सहमतिको बिन्दु खोजौँ, एकता टुटिसकेको अवस्था पनि होइन, बहुमत सदस्य भएपछि यो पक्षले एकता जोगाउन बढी जिम्मेवार भूमिका खेल्नु उपयुक्त हुने सुझाब दिएअनुसार एकता नभत्किने गरी बैठक सुचारु गर्न अनुपस्थित अध्यक्षसँग पहल गर्ने जिम्मेवारी उपस्थित अध्यक्षलाई दिने निर्णय भएको हो ।’

वरिष्ठ नेता नेपाल निकट स्थायी कमिटी सदस्यहरू भीमबहादुर रावल, रघुजी पन्त, बेदुराम भुसाल, गोकर्ण विष्टलगायत एक दर्जन भन्दा बढी नेताले ओली अनुपस्थित भए पनि बैठक रोक्ने अधिकार दुवै अध्यक्षलाई नभएको भन्दै उनीहरूबीचको पदीय भागबन्डाभन्दा पनि पार्टीलाई विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन गर्ने कुरा महत्वपूर्ण भएकाले सञ्चालन गर्न माग गरेका थिए ।

‘६ साउनको स्थायी कमिटीले सर्वसम्मत रूपमा आजका लागि बैठक तोकेको हो, हामी तोकिएको मिति, तोकिएको ठाउँ र समयमै आएका छौँ, त्यसैले यो बैठक सार्ने अधिकार प्रधानमन्त्री र तपाईं दुवै जनालाई छैन,’ बैठकमा धेरै नेताको सुझाब उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामी विधि र पद्धतिका लागि लडिरहेका छौँ ।

मृतप्राय अवस्थामा पुगेको पार्टीलाई विधि र पद्धतिअनुसार चलाएर पुनर्जागृत गर्ने कामका लागि प्रचण्ड कमरेडलाई साथ दिएको र उहाँ पनि त्यसअनुसार नै अघि बढेको कारणले साथ दिएको हौँ, दुई अध्यक्षबीचको पदको भागबन्डामा हामीलाई रुचि छैन, बैठक चलाउनुपर्छ ।’ नेता रावलले दुई अध्यक्षको पदको भागबन्डा र सहमतिको प्रयास भन्दै बाहिर गलत प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाएका थिए । नेता जनार्दन शर्माले महाधिवेशनमा जाने गरी छलफल अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

प्रचण्डले भने, ‘एकल अध्यक्षको नेतृत्व स्विकारेको सन्देश जाने भो, त्यसैले बैठक गरौं’

बिहान प्रधानमन्त्रीसँग फोनमा सम्पर्क हुँदा उहाँले बैठक स्थगित गरौं भन्नु भएको थियो । मैले नियमित एजेन्डामा बैठक गरौँ, नरोकौँ भनेँ । स्थायी कमिटीले नै १३ गते मिति तय गरेको हुँदा रोक्न मिल्दैन । पटक पटक बैठक सरिसक्यो, यो मिति तपाईं र मैले होइन, स्थायी कमिटीले तोकेको हो । स्थायी कमिटीले तोकेको बैठक हामीलाई रोक्ने अधिकार छैन, रोक्न मिल्दैन ।

म त्यहाँ (बालुवाटार) आउँदै छु, सल्लाह गरौंला नि त भन्दाभन्दै उहाँले फोन राखिदिनुभो । मैले बरु त्यहाँ आएपछि साथीहरूसँग केहीबेर कुरा गरौंला अनि जे गर्ने गरौंला भनेको थिएँ । तर, ढिलो भएर छलफलका लागि जान खोज्दा बैठक स्थगित भएको जानकारी आयो । जुन सूचना बैठक स्थगितका लागि जारी गरियो भनियो त्यसका लागि सचिवालयको बैठकै बसेको छैन, सूचना नै मिलेको छैन । अध्यक्षले बैठक स्थगित गरेको घटना पनि छैन ।

मैले महासचिवलाई यो के गरेको भनेर सोधेँ । यो घटनाले असहज परिस्थिति उत्पन्न गर्‍यो । हुन त यसअघि पनि एमाले पार्टी दर्ता, जुलुस प्रदर्शन, जबजका नाममा भएका गोष्ठीहरू पनि यस्तै असहज घटना हुन् । तैपनि पार्टी एकताका लागि मैले प्रयत्न गरिनै रहेको छु । आज उहाँले गरेको यो स्थगनलाई स्वीकार गर्ने हो भने त एकल अध्यक्ष लागू भएको ठहर्छ । त्यसैले स्थायी कमिटीको निर्णयलाई यसरी उल्ट्याउन मिल्दैन, बैठक गर्नुपर्छ ।

६ बुँदे प्रस्ताव राख्दै वामदेवले भने, ‘ओली कम्युनिस्ट हुन योग्य व्यक्ति नै होइन, तर दुर्घटनाबाट पार्टीलाई जोगाउन सहमतिको प्रस्ताव ल्याएको हुँ’

प्रधानमन्त्री ओलीले एक पदबाट राजीनामा दिनुपर्ने नेकपाको स्थायी कमिटी बैठकका पहिलो प्रस्तावक उपाध्यक्ष वामदेव गौतम ओलीले दुवै पदबाट छोड्नु नपर्ने भन्दै अचानक उनकै पक्षमा उभिएका छन् ।

ओलीले एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड–नेपाल समूहको छलफलमा सहभागी हुँदै आएका गौतमले एकता महाधिवेशनसम्म ओली नै अध्यक्षमा कायम रहने र प्रतिनिधिसभाको कार्यकालभरि उनी नै प्रधानमन्त्री हुनुपर्ने भन्दै प्रस्ताव राखेका हुन् ।

‘पार्टी संकटको मुख्य कारक कमरेड केपी ओली नै हो । यति धेरै साथीहरूले योग्यता देखाउन सक्नु भएन, छाड्नुस् भन्दा पनि उहाँ राजीनामाका लागि तयार हुनु भएन र उहाँको त्यही हठले अब पार्टीमा विभाजनको खतरा देखा परेको छ ।

उहाँबाट पार्टी र सरकार दुवै चल्दैन भन्दा अलिअघि माधव कमरेडले अहिले केपीलाई नहटाउँ, एक पटकलाई सुध्रने मौका दिउँ, आलोचना गरौँ, सुधार्ने प्रयत्न गरौं भन्नुभो,’ सहमतिको प्रस्ताव औचित्य गर्ने क्रममा गौतमले राखेको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘यत्रो विरोध र आलोचना हुँदा उहाँ आफैले छाड्नु पर्ने हो, तर उहाँमा त्यस्तो छोड्ने साहस देखिएन, त्यसैले उहाँ कम्युनिस्ट हुन योग्य मान्छे होइन ।

यस्तो व्यक्तिलाई अहिले हामीले बोकिरहेका छौं, जसले फोहोर मात्र गरिरहेको छ, खाली अहिले तत्काल दुवै पदबाट हटाउँदा दुर्घटना होला कि भन्ने मलाई लाग्यो, त्यसकारण मैले अरू कुराहरू मिलाउँ, तर प्रधानमन्त्रीबाट चाहिँ नहटाउँ भनेर सहमतिको प्रस्ताव राखेको हुँ ।’

०७२ यता लगातार ओलीबाट धोका पाएको गुनासो गर्दै आएका गौतमले ६ बुँदे प्रस्तावमा प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने र पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्रीको दैनन्दिनका काममा पार्टीले हस्तक्षेप नगर्ने, तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, पार्टी सचिवालयका सुझाब र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने । संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने उल्लेख छ ।
यसरी तयार भो गौतमको प्रस्ताव– पौडेल, भुसाल र भट्टराईसँग परामर्श

६ बुँदे सहमतिको प्रस्ताव तयार गर्नुअघि उपाध्यक्ष गौतमले महासचिव विष्णु पौडेल, कृषिमन्त्री घनश्याम भुसाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग समेत छलफल र परामर्श गरेका छन् ।

गत शुक्रबार भुसाल र भट्टराईसँग पार्टी एकताकै विषयमा गौतमले निजी निवास भैँसेपाटीमा राति अबेरसम्म परामर्श गरेका थिए । तीन साताअघि पौडेलसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मुख्यमन्त्री शंकर पोखरेलसहितले राति १ बजेसम्म छलफल गरेर ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसक्रममा गौतमलाई जबजको पक्षमा खुलेर अबको महाधिवेशनबाट नेतृत्व लिने गरी अघि बढ्न सुझाब दिएका थिए । तर, गौतमले भने आफूले निरन्तर ओलीबाट धोका पाएकाले उनको समूहमा रहन नसक्ने, तर पार्टी विभाजन हुन नदिन निर्णायक भूमिका खेल्ने वचन दिएका थिए ।

यद्यपि, आफ्नो प्रयासका बाबजुद पार्टी विभाजन भए स्वतन्त्रको वामनेताको हैसियतमा बस्ने भन्दै विगतको जस्तो विभाजनको दोष कुनै पनि हालतमा नलिने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार गौतमले ६ बुँदे प्रस्ताव अघि सारेको भैँसेपाटी छलफलमा सहभागी एक नेताले बताए ।

युवा नेताहरूको निष्कर्ष : संवाद जारी राख्दै सरकार र पार्टीको समीक्षा बाहेकको एजेन्डामा छलफल

नेकपाका दोस्रो तहका नेताहरू घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले पार्टीलाई विभाजनतर्फ जान नदिन निर्णायक अग्रसरता लिने समझदारी गरेका छन् । बालुवाटारमा बहुमत स्थायी कमिटी सदस्यको बैठक सुरु हुनुअघि कृषिमन्त्री भुसालको कार्यकक्षमा भेला भएका तीन नेताले त्यस्तो समझदारी गरेका हुन् ।

‘बैठक चलाउन सकिन्छ, तर संवाद रोकिने गरी कसैले पनि निर्णय वा जुलुस, सभा, प्रशिक्षणजस्ता गतिविधि गर्नुहुँदैन, त्यसले पार्टी फुटाउँछ भन्ने हाम्रो कुरा हो,’ नेता भुसालले भने, ‘त्यसैले सरकार र पार्टीको समीक्षासम्बन्धी एजेन्डाबाहेकमा छलफल गरेर संवाद जारी राख्नुपर्छ, अध्यक्ष पहिले पनि आउनुभएको थिएन, त्यसकारण अहिलेलाई त्यही कुरालाई गम्भीरतापूर्वक नलिउँ, प्रधानमन्त्रीले पनि बैठक बस्ने कुरालाई अनावश्यक ठान्नुभएन, उताबाट पनि पार्टी र सरकारको कामको समीक्षाबारे एक्लै छलफल गर्नुहुँदैन भन्ने हाम्रो कुरा हो ।’ उनले यही निष्कर्षसहित नेताहरूसँग विभाजन रोक्न पहल गर्ने समझदारी भएको समेत जानकारी दिए ।
वामदेवनिवासमा ओलीको ‘गेटक्र्यास’

बालुवाटारको तनावपूर्ण दिनपछि प्रधानमन्त्री केपी ओली ‘गेटक्र्यास’ गरेर मंगलबार साँझ पार्टी उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवास पुगेका छन् । श्रीमती राधिका शाक्यसहित बालुवाटारबाट निस्किएका ओलीले भैंसेपाटीनजिक नख्खु पुगेर मात्रै आफू आएको जानकारी दिएको गौतम परिवारको भनाइ छ । समकालीन नेताहरूसँग सम्बन्ध सुधार गर्न भेटका लागि कहिल्यै बालुवाटारबाहिर ननिस्कने प्रधानमन्त्री ओली गौतमलाई भेट्न दोस्रोपटक भैंसेपाटी पुगेका हुन् ।

ओलीले गौतमसँग साँझ ७ बजेपछि दुई घन्टा बिताएका थिए । यसअघि असोज, ०७६ मा भैंसेपाटीमा निर्माणाधीन सांसद आवास शिलान्यासबाट फर्किने क्रममा ओली अचानक गौतमनिवास पुगेका थिए । महासचिव विष्णु पौडेल पनि गौतमनिवासमा थिए ।

‘कति बालुवाटारमा मात्रै बस्नु, साथीसँग भेटघाट गरौं, रिफ्रेस होऔं भनेर पारिवारिक भेटका लागि आएको हुँ,’ भैंसेपाटी पुगेलगत्तै ओलीले भनेका थिए । गौतमको प्रेस संयोजन गरिरहेका पत्रकार विश्वमणि सुवेदीले पारिवारिक भेटघाटका लागि पुगेका प्रधानमन्त्री ओली दुई घन्टापछि फर्किएको बताए । गौतमका पुत्र हरिशले दुवै परिवारको सामूहिक तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन् ।

बालुवाटारमै बहुमत स्थायी कमिटी सदस्यहरूको बैठकपछि असहज महसुस गरेका प्रधानमन्त्री ओलीलाई साथ दिँदै गौतमले उनले प्रधानमन्त्री र अध्यक्ष दुवैमा निरन्तरता पाउनुपर्ने भन्दै सहमतिको ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि १९ असारमा ओलीनिकट नेताहरूले मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष गौतमसँग उनकै निवास भैंसेपाटीमा छलफल गरेका थिए । ‘डिनर’सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए ।

त्यसैदिन बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका थिए । अर्को दिन नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी दिएका थिए ।

गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भनेका छन्, ‘मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरैपटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।’

गौतमले दुवैतर्फबाट पार्टी फुटाउने गृहकार्य भएको भन्दै आफूलाई निरन्तर धोका दिएका ओलीको पक्षमा पनि नलाग्ने र प्रचण्ड–नेपाल समूहको नेतृत्वको पार्टीमा नलागी बरु एक्लै भए पनि ‘स्वतन्त्र वामनेता’को हैसियतमा बस्ने जवाफ फर्काएका थिए ।

‘मैले उहाँलाई एकतर्फी निरन्तर सहयोग गर्दै आएँ, तर उहाँ (केपी ओली) ले मलाई हदैसम्म अपमान मात्रै गर्नुभो, धोका दिनुभो, उहाँहरू (प्रचण्ड–नेपाल) पनि सहमतिभन्दा बहुमत र अल्पमतको नाममा निर्णय गरेर पार्टी फुटाउने तयारीमा जस्तो देखिनुहुन्छ, खोज्दै हुनुहुन्छ, तयारी त्यस्तै छ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागीमध्ये एक नेताले भनेका थिए, ‘विभाजनबाट के हुन्छ ? मलाई सबै थाहा छ, दुर्घटना नहोस्, त्यस्तो अवस्था आयो भने म (ओली–प्रचण्ड–नेपाल समूह) कतै लाग्दिनँ, बरु एक्लै भए पनि तटस्थ बस्छु ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७