बाढी पहिरोमा नौको मृत्यु, पाँच बेपत्ता


१४ श्रावण २०७७, बुधबार
pahiro2020 07 29 05 12 32

काठमाडौं, १४ साउन । दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी विभिन्न जिल्लामा नौजनाको मृत्यु भएको छ भने पाँच बेपत्ता भएका छन् । एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।

दार्चुला, रुकुम पश्चिम र बाग्लुङमा दुई–दुई जनाको मृत्यु भएको छ । त्यस्तै, कालिकोट, गुल्मी र दोलखामा एक–एकजनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएर कालिकोटमा पाँच जना बेपत्ता भएका छन् । वर्षा नरोकिएकाले उनीहरूको खोजी गर्न कठिनाइ भइरहेको छ ।

पहिरोले घर पुरिँदा दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र ४५ वर्षीया उनकी पत्नी इन्द्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर सुरेन्द्रप्रसाद जोशीले बताए । उनीहरूका छोरा भनेर भागेर बाँचेका छन् ।

त्यस्तै, बाग्लुङको तमानखोला गाउँपालिका–२ खोलेस्वाङमा सोमबार राती गएको पहिरोले घर पुरिँदा होमकुमारी रसाइलीका १३ वर्षीय छोरा खेम र ११ वर्षीया छोरी रीताको मृत्यु भएको हो । होमकुमारी घाइते भएकी छिन् ।

मंगलबार बिहान ४ बजे खसेको पहिरोले घर पुरिँदा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ स्यालाका स्थानीय २२ वर्षीय नवीन विक र १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कालिकोटमा सोमबार राति खसेको पहिरोले चार घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् । मंगलबार बिहान बास्कोट–१ तुसारखोलामा आएको पहिरोले टेकबहादुर टमटाको घर बगाउँदा उनको घरमा पाहुना आएकी १४ वर्षीया वेलपुरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर यक्षराज जोशीले बताए । त्यस्तै, रास्कोट नगरपालिका–१ वहल्तोलामा पहिरोले जयबहादुर शाहीको घर पुरिँदा उनको परिवार र पाहुना आएका आफन्तसहित पाँचजना बेपत्ता भएका छन् ।

त्यस्तै, खेतमा पसेको भेल खोलातिर फर्काउन गएका पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका २९ वर्षीय दीपक अर्यालको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी मदन गिरीले बताए । उता, भिरबाट खसेको ढुंगाले घर भत्किँदा दोलखाका् बिगु गाउँपालिका–४ सिँगटी बजारकी ३५ वर्षीया रेणु थामीको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७