बरामद १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्रै सुन, घटना अनुसन्धान गर्न समिति गठन


१४ श्रावण २०७७, बुधबार
gold

काठमाडौं, १४ साउन । नेपाल प्रहरीले काठमाडौं कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्रै सुन भएको जनाइएको छ ।

मंगलबार बिहान काठमाडौंको कमलादीस्थित नविल बैंक अगाडिबाट प्रहरीले बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये परीक्षण गर्दा आधा किलो मात्रै सक्कली सुन भएको पाइएको प्रहरीको भनाइ छ ।

कमलादी चोक नजिक प्रहरी चेकजाँचको क्रममा बा.६ च ५५११ नम्बरको स्कोर्पियो रचेकजाँच गर्न खोज्दा सुन कारोबारी कपडाको झोला फालेर भागेका थिए । झोला खानतलासी गर्दा १५ किलो सुन जस्तै देखिने पहेंलो धातु बरामद भएको थियो ।

जसमध्ये परीक्षण गर्दा आधा किलो अर्थात ४२ लाख ९ हजार ५ सय रुपैयाँ मूल्य बराबरको मात्रै सुन भएको पाइएको छ । अन्य साढे १४ किलो भने चाँदीमा सुनको जलप लगाएको पाइएको प्रहरीको भनाइ छ ।

चाँदीको बजार मूल्य १५ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिएका छन् । उनले चाँदी र सुन बोक्न प्रयोग भएको स्कोर्पियो गाडी खोजिरहेको जानकारी दिए । यस्तै, उनले बरामद भएको झोलामा दुई थान अबैध हतियार भेटिएको समेत बताए ।

प्रहरीले बरामद गरेको १५ किलो बराबरको अबैध पहेंलो धातुमध्ये १ किलो लेखिएको ८ थान र २५० ग्राम लेखिएको २६ थान चाँदीमा सुनको जलप लगाएको परीक्षणको क्रममा देखिएको प्रहरीको दावी छ । गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।

घटना अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
यता नक्कली सुन र पेस्तोल बरामद प्रकरण छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको कमाण्डमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७