पुरानालाई कारवाही गरेर नयाँलाई पार्टी प्रवेश गराउनु उचित भएन : नेता सिंह


१४ श्रावण २०७७, बुधबार
Prakashman singh congress nepoal leaders

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति देउवाका कारण पार्टीको स्वास्थ्य बिग्रिएको टिप्पणी गरेका छन् ।

उनले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र नयाँलाई पार्टी प्रवेश गराउने सभापति देउवाको कदम उचित नभएको बताएका छन् ।

उनले अन्य पार्टीबाट प्रवेश गराउनु राम्रो भए पनि अहिले समय ठीक नभएको बताएका छन् । कांग्रेसले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारबाही गरेको छ भने मंगलबार राप्रपा नेता सुनीलबहादुर थापासहितलाई प्रवेश गराएको छ ।

‘ठीक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भने अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनु पर्छ ठीक छ तर यो जुन समय हो ठीक भएन’ उनले भने ।

देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन गर्ने र पद बाँड्ने काम गरेको भन्दै उनले कसैलाई कारबाही गरेर आफूले जे चाहन्छु त्यो गर्न सक्छु भन्ने देखाउन खोजेको बताए ।

‘मसँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ त्यसलाई मैले कारबाही गर्छु भन्ने ‘दण्ड दिने र मोह पनि देखाउने गरी आउने महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टी भित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनु भएको छ’ नेता सिंहले भने ।

देउवाले प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको उनले आरोप लगाएका छन् । ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य मान्यता विपरीत जुन जबरजस्ती गरिराख्नु भएको छ यो अप्रजातान्त्रिक गति हो । यो ठीक भएन भन्ने कुरा हामीले भनिरहेका छौं’ उनले भने ।

२०४६ सालयताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दूराअवस्थामा पुगेको उनको निष्कर्ष छ । नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य नरहेको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७