म ओलीको पक्षमा लागेको छैन : मणि थापा


१४ श्रावण २०७७, बुधबार
mani thapa E8ATNttecC

काठमाडौं, १४ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू केपी ओलीको पक्षमा नलागेको स्पष्ट पारेका छन् । उनले आफू प्रचण्डको पक्षमा पनि नरहेको उनले जनाउन दिएका छन् ।

पूर्व माओवादी खेमाका नेता थापा पछिल्लो समय प्रचण्ड समूह छाडेर केपी ओलीको पक्षमा लागेको चर्चा चलिरहेको छ । हिजो बालुवाटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको स्थायी कमिटीका वहुमत सदस्यको वैठकमा थापा अनुस्थित भएपछि उनीप्रति थप आशंका बढेको थियो ।


तर, थापाले आज (बुधबार) रिपोर्टस क्लबमा उपस्थित भएर भने, ‘म ओलीको पक्षमा लागेको छैन, म कसैको पक्षमा लागेको छैन । म पार्टी एकताको पक्षमा लागेको हुँ ।’ उनले भने, ‘म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’

उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुटफुट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबी गरेका छन् ।

उनले भने, ‘दुई अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गइनँ । तर, हिजो बालुवाटारमा बसेको मिटिङको बारेमा मेरो विरोध छैन ।’

हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको पनि उनले बताएका छन् ।

उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको विश्वास व्यक्त गरे । उनले भने, ‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ ।’ एकताको मर्म पनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी सोही दिशामा आईपुगेको उनको तर्क छ ।

उनले भने, ‘मेरो पनि यही धारणा हो । पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कमरेड कार्यकारी अध्यक्षको भूमिका रहने, चैत्रमा एकता महाधिवेशन्न सम्पन्न गर्ने हो । यो भनेको आम धारणा पनि हो ।’ उनले बहुमत–अल्पमतको आधारमा नभई सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७