बाढी र पहिरोको चपेटामा पश्चिम नेपाल : ११ को मृत्यु, चार बेपत्ता, ६ हजार परिवार डुबानमा, दुई हजार विस्थापित


१५ श्रावण २०७७, बिहीबार
DD Bhajani2

कैलाली, १५ साउन । मनसुनी प्रभाव सुरु भएसँगै पश्चिमी नेपालमा बाढी र पहिरोले क्षति गर्न थालेको छ । बुधबार बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । ६ हजारभन्दा बढी परिवार डुबानमा परेका छन् ।

पहिरोले घर पुरिँदा कर्णाली प्रदेशको कालिकोटमा नौजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । त्यस्तै, मंगलबार र सोमबार बाढीपहिरोमा बेपत्ता भएका सात जना भेटिएका छैनन् । प्रदेश ५ को दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिका–५ साकिनेमा आमाछोरीको मृत्यु भएको हो ।

त्यस्तै, सुदूरपश्चिममा बाढी र पहिरोमा परी चारजना बेपत्ता भएका छन् । बाढीले बगाउँदा कैलाली तीन र पहिरोमा पुरिएर बाजुरामा एकजना बेपत्ता भएका हुन् । कैलालीमा ६ हजार २३ परिवार डुबानमा परेका छन् । उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोले घर पुरिँदा कालिकोटको नरहरिनाथ गाउँपालिकामा एकैपरिवारका सात जनासहित नौ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । यसअघि मंगलबार पहिरोमा बेपत्ता भएका सातजना पनि भेटिएका छैनन् ।

बुधबार बिहान ४ बजे खसेको पहिरोले नरहरिनाथ गाउँपालिका– ७ बागाका गंगे बुढाको घर पुरिएको हो । सुतिरहेकै वेला आएको पहिरोले पुरिँदा ६२ वर्षीय गंगे बुढा, उनकी पत्नी ६२ वर्षीया मैना, बुहारी २४ वर्षीया उषा, छोरी १८ वर्षीया विमला, नातिनी १० वर्षीया चन्द्रिका, नातिहरू सात वर्षीय राम बुढा र डेढ वर्षीय चरित्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बताए ।

पहिरो खसेको खबर पाउने बित्तिकै स्थानीय उद्धारमा जुटेका थिए । गंगेको परिवारका अन्य चार जनालाई भने उद्धार गरिएको छ । उनीहरू सामान्य घाइते रहेको डिएसपी ओलियाले बताए ।

यस्तै, मंगलबार राति नरहरिनाथ–४ माझगोठमा पहिरोले घर भत्किँदा ६५ वर्षे बाले बुढा र उनकी पत्नी ६२ वर्षीया मना बुढाको मृत्यु भएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको बुधबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, मंगलबार दिउँसो टाकुल्ला खोलामा आएको बाढीले बगाउँदा खाँडाचक्र गाउँपालिका–६, दाहाँकी ५० वर्षीया अविसरा शाही बेपत्ता भएकी हुन् । कालिकोटकै रास्कोट नगरपालिका– १ मा सोमबार राति आएको पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँचजना भेटिएका छैनन् ।

सुतिरहेकै वेला आएको पहिरोले पुरिँदा ५० वर्षीय जयबहादुर शाही, उनका छोरीहरू १५ वर्षीया संगीता, १२ वर्षीया कौसी, छोरा आठ वर्षीया नवीन र भदै १५ वर्षीया अस्मिता बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको र बुधबारसम्म भेट्टाउन नसकिएको जिल्ला प्रहरीले जनाएको छ । आइतबार पहिरोमा परी हराएका नरहरिनाथ गाउँपालिका– ८ का १६ वर्षीय पारस भण्डारा पनि भेटिएका छैनन् ।

दाङमा पहिरोमा पुरिएर आमा छोरीको ज्यान गयो

पहिरोले दाङको बंगलाचुली गाउँपालिका–५ साकिनेकी बाटुली नेपालीको घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ । बुधबार बिहान ३ बजे सुतिरहेकै वेला पहिरोले घर पुरिएको हो ।

घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनकी छोरी दुई वर्षीया आयुष्माको मृत्यु भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । पाँच जनाको परिवारमध्ये तीनको सकुशल उद्धार गरिएको छ । पहिरो खसेको थाहा पाएपछि स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए । पानी परिरहेकाले अन्य घर पनि पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष वलीले बताए ।

सुदूरपश्चिममा चार बेपत्ता, ६ हजार परिवार डुबानमा

सुदूरपश्चिममा बाढीपहिरोमा परी चार जना बेपत्ता भएका छन् । कैलालीमा बाढीमा बगेर तीन र बाजुरामा पहिरोमा पुरिएर एकजना बेपत्ता भएका हुन् । बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको छ ।

कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताए । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको उनले बताए ।

बुधबार दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी–८ कै ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ । बगेको ठाउँबाट करिब पाँच सय मिटर तल घाइते अवस्थामा उद्धार गरिएको डिएसपी विष्टले बताए । त्यस्तै, त्यही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

यस्तै, बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा पहिरोमा पुरिएर स्थानीय २१ वर्षीय धर्मराज पाध्याय बेपत्ता भएका छन् । बाख्रा चराउन गएका वेला आएको पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर दानबहादुर रोकायाले बताए । पहिरोमा परेर १७ वर्षीय ज्ञानराज पाध्याय र १५ वर्षका हरेन्द्र पाध्याय घाइते भएका छन् । ज्ञानराजको अवस्था गम्भीर रहेको इन्स्पेक्टर रोकायाले बताए ।

कैलालीका ६ हजार परिवार डुबानमा

दुई दिनदेखिको लगातार वर्षाले कैलालीमा ६ हजार २३ परिवार डुबानमा परेका छन् । उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भजनी–८ थापापुरका मात्रै एक हजार एक सय ७० परिवार डुबानमा परेका छन् भने दुई सय परिवार विस्थपित भएका छन् । उनीहरूलाई स्थानीय गोड्चौरा माविमा राखिएको छ भने भजनी–५ का १६ परिवार हुलाकी राजमार्गमा पाल टाँगेर बसेको मेयर शेरबहादुर चौधरीले बताए ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन् । जोशीपुरका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुरको वडा नं. १, ३, ५ र ७ का अधिकांश बस्ती डुबानमा परेका छन् । उनीहरूमध्ये एक हजार परिवार पानीको सतह घटेपछि घर फर्केको प्रजिअ बोहराले बताए ।

त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा आठ सय २५ परिवार डुबानमा परेका छन् । टीकापुरमा बाढीले ३० घर भत्किएका छन् । शिवनगर, चमेलीपुर र विजयनगर मुक्त कमैया शिविरमा बाढी पसेपछि घरहरूमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको प्रजिअ बोहराले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७