प्रहरी हेड क्वार्टरका थप ९ जनालाई कोरोना, संक्रमितको संख्या ४४ पुग्यो


१५ श्रावण २०७७, बिहीबार
Nepal Police Headquarter

काठमाडौं, १५ साउन । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप नौं प्रहरीमा आज (बिहीबार) कोरोना संक्रमण देखिएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप नौं जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिएका छन् । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।

संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए । यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबार ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७