पर्सामा कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सीईओसहित एकै दिन तीन जनाको मृत्यु

नारायणी अस्पतालमा गम्भिर पाँच जनाको आइसियुमा उपचार हुँदै


१६ श्रावण २०७७, शुक्रबार
narayani 1

पर्सा, १६ साउन । कोरोना भाइरस संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को ज्यान गएको छ ।

जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी भारतीय नागरिक हुन् ।

उनी लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित रहेको कोरोना अस्पतालका इञ्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिएका छन् । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

‘उनी मुटुरोगी थिए, मुटुको बाइपास सर्जरी भइसकेको थियो,’ डा.सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौं, राति साढे ११ बजे उनको मृत्यु भयो ।’

पर्सामा बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित तीन जनाको ज्यान गएको छ । यसअघि वीरगञ्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको डा. निरज सिंहले जानकारी दिएका छन् ।

मंगलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसै दिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.सिंहले बताए ।

यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालका डा.सिंहले बताए ।

वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको डा. मदन उपाध्यायले बताएका छन् ।

‘संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आइसियुमा उपचार भइरहेको छ,’ उनले भने । यसअघिका संक्रमितमा लक्षण नदेखिए पनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको उपाध्यायले बताएका छन् ।

साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७