वैठक स्थगित गरेर बसेका ओलीलाई प्रचण्डले राखे निकाससहितको वार्ता प्रस्ताव


१६ श्रावण २०७७, शुक्रबार
Prachanda 1 ZJeyOnZjOu

काठमाडौं, १६ साउन । पार्टी स्थायी कमिटी वैठक एकतर्फ रुपमा स्थगित गरेर बसेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकाससहितको वार्ता प्रस्ताव राखेका छन् ।

बिहीबार नेकपा महासचिव विष्णु पौडेललाई खुमलटार बोलाएर अध्यक्ष दाहालले ओलीलाई निकाससहितको छलफलमा बस्न प्रस्ताव गरेका हुन् ।

साउन १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी स्थगित गरेका थिए भने दाहालले बहुमत सदस्यसहित बैठक राखेका थिए । सोही बैठकले स्थायी कमिटीको अर्को बैठक राख्न अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर पहल गर्ने जिम्मा अध्यक्ष दाहाल दिएको थियो । वैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष समेत निकालेको थियो । उक्त बैठकपछि ओली र दाहालबीच संवाद भएको छैन ।

स्थायी कमिटी वैठक एकतर्फी रुपमा स्गथित गरे अध्यक्ष ओली ‘पर्ख र हेर’ को रुपमा बसेपछि अर्का अध्यक्ष दाहालले महासचिव पौडेललाई बोलाएर विवाद समाधानमुखी ढङ्गले छलफलका लागि ओली तयार हुनुपर्ने र सोही अनुसार समय मिलाउन प्रस्ताव गरेका हुन् ।

‘मुख्यतया निकासका बारेमा छलफल गर्नुपर्‍यो । छलफल गर्ने ‘स्पिरिट’ सहित भेट्न पर्‍यो भनेर महासचिवलाई अध्यक्ष दाहालले भन्नु भएको छ,’ एक नेताले भने । भेटघाट र छलफल विवाद समाधान गर्ने ‘स्पिरिट’ सहित होस् भन्ने उत्तरको अपेक्षामा प्रचण्ड बसेको ती नेताले जानकारी दिएका छन् । महासचिव पौडेलले प्रचण्डको प्रस्ताव ओलीलाई पुर्‍याएका छन् ।

तर, ओलीले अहिलेसम्म भेटघाटको समयबारे खबर गरेका छैनन् । नेकपाभित्रको विवाद हल गर्न पटक–पटक दुई अध्यक्षबीच छलफल भए पनि सहमति र निकासको कुनै विन्दु फेला पर्न सकेको छैन । बरु दुई अध्यक्षबीच संवादहिनता र कटुता बद्दै गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७