कांग्रेसद्वारा साग स्वर्ण विजेता सम्मानित


१७ श्रावण २०७७, शनिबार
saga gold

काठमाडौं, साउन १७ गते । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

१३ औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण जितेको थियो । ५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी १३ औं सागमा नेपालले दोश्रो स्थान हासिल गरेको थियो ।

१३ औं सागमा नेपालले हासिल गरेको उपलिब्ध सागकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट हो । नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोश्रो भएको थियो ।
त्यत्तिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो । साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३ औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो ।


व्यक्तिगत स्पर्धाका विजेतालाई सम्मान गर्ने घोषणा गरेपनि टिम स्पर्धाका स्वर्णधारीलाई पनि सम्मान गर्ने विषयमा छलफल गरी निर्णय लिने विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका थिए ।एकल र टिम स्पर्धाका स्वर्ण विजेतालाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको हो ।


एक स्वर्ण विजेतालाई १० हजार, दोहोरो स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दोहोरो स्वर्ण जित्नेमा गोल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् ।

पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् । व्यक्तिगत स्पर्धा र टिम स्पर्धाका स्वर्ण विजेतालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गौरिका लन्डनमा रहेकाले उनको पुरस्कार नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले ग्रहण गरे । कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पु¥याउने व्यवस्था मिलाउने विभागले जनाएको छ ।


नेपाल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा देउवाले १३ औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च बनाएकोमा खेलाडीको प्रशंसा गरे ।


विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतासंगै प्रशिक्षकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रतिबद्धता जनाउदै ओलम्पिकमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नामवली पाए १० दिनभित्र उनीहरुको कोरोना विमा गर्न विभाग तयार रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पु¥याउन सहज हुने बताउदै खेलाडीलाई सम्मान गरिदिएकोमा विभागलाई धन्यवाद दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७