नेकपाभित्रको विवाद र छलफल पदकाे ‘छिनाझपटी’ होइन पद्दतिको कुरा हो : प्रचण्ड


१७ श्रावण २०७७, शनिबार
Prachanda

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताएका छन् ।

जननायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता प्रक्रिया नटुङ्गिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता र निरासा छाएको बताएका छन् ।

उनले पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहे पनि यो पदको निम्ति विवाद नभएको स्पष्ट पारेका छन् । ‘बाहिर प्रचार गरिए जस्तो नेकपाभित्रको अहिलेको बहस पदको छिनाझपटी बिल्कुलै होइन ।

यो बहस पार्टीको विधि र पद्धति कस्तो बनाउने भन्ने हो’, प्रचण्डले थपे, ‘राजनीतिक स्थिरता र एकताका निम्ति हामीले पद त्याग गर्दै नै आएका छौं । अहिले पार्टी एकताको रक्षा गर्दै यसलाई कसरी राम्रोसँग अगाडि बढाउने भन्ने हिसावले हाम्रो बहस अगाडि बढेको छ ।’

उनले पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने बारेमा छलफल जारी रहेको बताएका छन् । प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो एक महिनादेखि सत्तारुढ नेकपाभित्रको टकराव उत्कर्षमा पुगेको छ ।

स्थायी कमिटी बैठक समेत पटक–पटक स्थगित गर्दै आएका नेताहरू सहमति खोज्ने अन्तिम कसरत गरिरहेका बेला प्रचण्डले एकतामै जोड दिएका हुन् ।

नेपालमा दशकौंदेखि बोलचाल नभएका कम्युनिष्ट समूहहरू १० दिनभित्र नै एकै ठाउँ बस्ने अवस्था आएको भन्दै त्यो एकताले ठूलो राजनीतिक छलाङ ल्याएको प्रचण्डले बताए ।

‘त्यो एकताले गर्दा नै हामी अत्याधिक बहुमत सहित सरकारको नेतृत्व गर्ने ठाउँमा आइपुग्यौं, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नेपाल एउटा मोडल बनेको छ’, प्रचण्डले थपे ।

एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै फेरि पार्टी र जनताको भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको बताउँदै प्रचण्डले अन्तरद्वन्द्व अस्वस्थ बन्दै गएको स्वीकार गरेका छन् । ‘हामी कम्युनिष्ट जालझेल, छलकपट अपनाउन सक्दैनौं, त्यसैले हाम्रो संघर्ष तिखो हुन्छ’, प्रचण्डले भने, ‘एकता बचाउने क्रममा विभिन्न एजेण्डा र प्रवृतिको फस्र्योट पनि हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७