काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना, उपत्यकामा संक्रमितको संख्या ६०३ पुग्यो


प्रकाशित मिति : 1 August, 2020 4:42 pm

काठमाडौं, १७ साउन । आज (शनिबार) काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिउका संक्रमितमध्ये काठमाडौंका ५ जना र भक्तपुरका एक जना रहेका छन् ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । जसमध्ये काठमाडौंमा ४२८ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५८ जना कोरोना संक्रमित पुगेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३१५ जनामध्ये ६ जना काठमाडौं उपत्यकाका हुन् । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

आज (शनिबार) थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ४९२ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्