पहिरो पीडा : हजुरबालाई सात वर्षीया नातिनीको प्रश्न, ‘मम्मी–बाबा खोइ ?’


१८ श्रावण २०७७, आईतवार
RSS Damauli aamababugumayekibalikajpg scaled

तनहुँ, १८ साउन । बिहान घाम झुल्क्यो कि तनहुँको रिसिङ गाउँपालिका– ८ भैसिकिलीका ६४ वर्षीय अनबहादुर थापालाई उकुसमुकुस हुन्छ ।

कहिलेकाहीँ राति सुत्दा त उनी बिहान नभई दिए हुन्थ्यो भन्ने सोच्छन् । ‘हरेक बिहान भत्किएको घरमा लगेर अमिनाले मम्मीबाबा खोइ भनेर सोध्छे । नातिनीको प्रश्नले मुटु बिझाउँछ, उसलाई सम्झाउँदा आफै सम्हालिन गाह्रो हुन्छ,’ अनबहादुर भन्छन् ।

उसो त उनलाई राति पनि ऐठन हुन्छ । आफन्तको घरमा बसिरहेका उनलाई अबेर रातिसम्म निद्रा लाग्दैन, छटपटी हुन्छ । परिवारका सदस्य आँखैमा घुम्छन् । तैपनि सात वर्षीया नातिनीको अनुहार हेर्छन् र मन थाम्छन् । ‘हँसिलो परिवार थियो, नातिनीहरूसँग खेलेर बस्थें । एकैरातमा सबै स्वाहा भयो,’ अनबहादुर पीडा सुनाउँछन् ।

२९ असार राति । खानपिन गरेर परिवारका सबै सदस्य आ–आफ्नो कोठामा सुतिसकेका थिए । पानी पर्न थालेकाले अनबहादुरलाई निद्रा लागेको थिएन । ‘पल्टिएको केहीबेरमै पानी पर्न थाल्यो । राति १२ बजेतिर हो, आँखा लाग्दै थियो । एक्कासी पहिरो खस्यो,’ अनबहादुर सम्झन्छिन्, ‘गल्र्यामगुर्लुम घर ढल्यो ।’

एकछिन उनी रन्थनिए । तर, चोट लागेको थिएन, उठेर यताउति हेर । छेउमै उनकी पत्नी ६० वर्षीया ज्योति च्यापिएकी थिइन् । ‘उनलाई निकालें । छोराबुहारी र नातिनी हेर्न गएँ, कोही देखिएनन्,’ उनी भन्छन्, ‘घर पूरै क्षतविक्षत भएको थियो ।’

उनले हारगुहार गरेपछि राति नै गाउँले आए । पहिरो पन्छाउन थाले, तर उनका छोराबुहारी र नातिनी फेलापार्न सकेनन् । अर्को दिन बिहान पाँचैजनाको शव भेटियो । उनले एकै झट्कामा जेठा छोराबुहारी भेषबहादुर–नानीमाया, कान्छा छोराबुहारी महावीर र मनिसरालाई गुमाए ।

जेठा छोराबुहारीबाट दुई नातिनीमध्ये कान्छी पाँच वर्षीया अमिसालाई पनि गुमाए । ‘यो पनि सधैँ मम्मीबाबासँगै सुत्ने गर्थी, त्यो रात छिमेकीको घरमा गएकी थिई । भाग्यले बाँची,’ पहिराले भत्किएको घरको भग्नावशेषमा सात वर्षीया नातिनी अमिनालाई देखाउँदै उनले भने, ‘यही छ र मन बुझाउँछु, नत्र बाँच्नै मुस्किल हुन्थ्यो ।’

अहिले उनी नातिनी अमिनासँगै छिमेकीको घरमा बसिरहेका छन् । उनकी पत्नी ज्योति पनि घाइते छिन्, हात भाँचिएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । नातिनी अमिनाले छिमेकीको घरमा बस्न नमान्ने गरेको उनी सुनाउँछन् ।

‘नातिनीलाई अर्काको घरमा बस्न मन लाग्दैन । त्यसैले हरेक बिहान हाम्रो घर जाऔं भन्छे । डोर्‍याएर ल्याउँछु,’ अनबहादुर भन्छन्, ‘पहिराले भत्किएको घर हेर्छे । मम्मीबाबा खोइ भन्छे । उसको प्रश्नले आँसु आइहाल्छ, नदेखाएर पुच्छु ।’

अनबहादुर मात्रै होइन, गाउँले पनि शोकमा छन् । उनीहरूलाई पनि अमिना देख्दा चिसिक्क हुन्छ । स्थानीय इन्द्र आले भन्छन्, ‘दुःखद घटना भयो । एकै परिवारका पाँच जनाको ज्यान गयो । नानीलाई देख्दा त पीडा भइहाल्छ ।’ गाउँलेले पनि अनबहादुरलाई ढाडस दिँदै आएका छन् । उनी पनि बिस्तारै सम्हालिँदै छन् । ‘अब के नै बाँकी छ र ! नातिनीको मुख हेरेर बाँचिरहेको छु । यसका लागि भए पनि घर बनाउन पाए हुन्थ्योे,’ उनी भन्छन् ।

गाउँपालिकाले जग्गा दिने, घर बनाउन सकस

अनबहादुरसँगै भैसिकिलीका पाँच घर सार्नुपर्ने भएको छ । त्यो ठाउँमा अब घर बनाउन नमिल्ने भएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘पहिराले पुरिएको ठाउँमा फेरि घर बनाउन सकिँदैन । त्यहाँका पाँच परिवारका लागि अन्यत्र जग्गा खरिद गरिसकेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने । पाँच परिवारका लागि तीन रोपनी जग्गा खरिद गरिएको छ । उनीहरूको आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिकाले जग्गा खरिद गरेको बताउँदै केही दिनभित्रै हस्तान्तरण गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

रिसिङ गाउँपालिकाले जग्गा दिए पनि अनबहादुर घर कसरी बनाउने भन्ने चिन्तामा छन् । आयस्रोत केही नभएका र आर्थिक अवस्था कमजोर भएका उनी घर बनाउन पैसा नभएको बताउँछन् । ‘मुस्किलले बनाएको घर पहिरोमा गयो, पैसा छैन । कसरी घर बनाउनु ?’ उनी आफैलाई प्रश्न गर्छन् ।

नातिनी अमिनाको पढाइ खर्च भने कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले व्यवस्था गर्ने जिम्मा लिएका छन् । पहिरोले घर भत्किएपछि गाउँमा पुगेको पौडेलले अमिनाको कक्षा १२ सम्मको पढाइ खर्च जुटाउने प्रतिबद्धता गरेका हुन् । ‘हजुरबुबाको आर्थिक अवस्था एकदम कमजोर छ । उनले पढाइबाट वञ्चित हुनु नपरोस् भनेर सहयोग गर्ने वाचा गरेको हुँ, सहयोग गर्छु,’ पौडेल भन्छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७