पर्सामा मेयरका परिवारसहित थप ४५ जनामा कोरोना संक्रमण

सोमबारबाट अनिश्चितकालीन निषेधाज्ञा, तीन सातामा कोरोनाबाट ११ जनाको मृत्यु


१८ श्रावण २०७७, आईतवार
parsa

पर्सा, १८ साउन । पछिल्लो समय पर्सा जिल्ला कोरोनाको ‘हटस्पट’ बनिरहेको छ । पछिल्लो २४ घण्टामा पर्सामा मेयरसहित थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालाको परीक्षणमा १४ महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

मेयर सरावगीको परिवारमा पनि संक्रमण

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म छन् ।

यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा गरिएको मास टेष्टिङमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तरकारी, फलफूल र माछामासु पाउने क्षेत्र भएकाले मीनाबजार क्षेत्रमा भिडभाड हुने गर्छ ।

मास टेष्टिङमा बढी जनसम्पर्कमा रहने मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

‘पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिका जस्ता बढी जनसम्पर्कमा आएकाहरुमा कोरोना देखिएको छ,’ ठाकुरले भने, ‘यसअघि माईस्थान मीना बजारमा संक्रमण देखिएका अधिकांश पसल व्यवसाय गर्ने नै थिए ।’ माईस्थान मीना बजारमा २ सय ९ जनाको स्वाब नमूना लिँदा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै वीरगञ्ज–११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रीपुरका ६२, १८, ५०, ४५, ३४ र १७ वर्षका पुरुष तथा ५०, ६०, २९ र ४३ वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मगनुस फर्माका ५ कर्मचारीमा कोरोना
यसैगरी मगनुस फर्माका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । औषधि फर्मामा काम गर्ने वीरगञ्ज–८ की ४१ वर्षीया महिला, वीरगञ्ज मनियारीका ३२ र वीरगञ्ज–४ भगवती टोलका ४६ वर्षीय पुरुष, ठोरी गाउँपालिका निर्मलबस्तीकी २६ र वीरगञ्ज–८ की ४१ वर्षीया महिलाहरुमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पेड पीसीआर गराएका वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका ५६ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

सोमबारदेखि अनिश्चितकालिन निषेधाज्ञा
पर्सामा सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संक्रमण समुदायस्तरमै तीब्र बनेपछि स्थानीय प्रशासनले जिल्लाभरी नै निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

यसअघि स्थानीय प्रशासनले विगत ६ दिनदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै निषेधाज्ञा लगाउँदै आएको थियो । परिस्थिति जटिल बन्दै गएकाले जिल्लाभरी नै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

116240976 3162751607150807 5691923986620368547 o

शनिवार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभरी नै अनिश्चितकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

पर्सामा गएको तीन सातामा कोरोना संक्रमणको कारण ११ जनाको मृत्यु भइसकेको छ । झण्डै तीन सय संक्रमित उपचारको क्रममा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७