यो साता भारतमा २५ सहित विभिन्न देशमा २८ नेपालीको कोरोनाबाट मृत्यु


१८ श्रावण २०७७, आईतवार
korona death

काठमाडौं, १८ साउन । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण यो साता विभिन्न देशमा रहेका २८ नेपालीको ज्यान गएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले एक साताभित्र विभिन्न देशमा २८ नेपालीको मृत्यु भएको जानकारी दिएको छ । पछिल्लो समय कोरोनाबाट निकै आक्रान्त बनेको छिमेकी देश भारतमा मात्रै एक सातामा २५ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘अल इण्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँदिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

nrna

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना संक्रमणका कारण विदेशमा मात्र १८९ जना नेपालीको मृत्यु भएको छ ।

शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

लग्जेम्वर्गमा एकैपल्ट ३५ नेपालीमा कोरोना संक्रमण
यस्तै युरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकै पटक संक्रमित भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार एक वैवाहिक वर्षगाँठमा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।

एनआरएनएका अनुसार अहिलेसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन । यता कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जना नेपाल फकिएका गैरआवासीय नेपाली संघले जनाएको छ ।

यता नेपालमा हिजो (शनिबार) सम्म नेपालमा २० हजार ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने १४ हजार ४ सय ९२ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरुको संख्या ५८ जना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७