ओली–प्रचण्डबीच बालुवाटारमा छलफल, खनाल र पौडेललगायतका शीर्ष नेताहरु पनि सहभागी


प्रकाशित मिति : 2 August, 2020 10:56 am

काठमाडौं, १८ साउन । बोली ‘बाराबर’ को अवस्थामा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्रको विवाद हल गर्न बालुवाटारमा छलफल शुरु भएको छ ।

आज (आइतबार) बिहान ९ः५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वयबीच छलफल शुरु भएको हो ।

छलफलमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहेक वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेता पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

गएको मंगलबार तय भएको स्थायी कमिटी बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । ओलीले एकतर्फ रुपमा स्थायी कमिटी वैठक रोक्नु गलत भएको निष्कर्ष निकालेको उक्त वैठकपछि दुई अध्यक्षबीच संवादहिनताको अवस्था थियो ।
ओली र प्रचण्डबीच संवाद गराउन बिहीबारदेखि महसचिव विष्णु पौडेल र शंकर पोखरेल सक्रिय थिए । शनिबार साँझ पनि ओलीको सन्देश लिएर पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

यता निष्कर्षसहितको वैठकका लागि प्रचण्डले ओलीलाई सन्देश पठाएका थिए । लामो समयदेखि जारी नेकपाभित्रको विवाद हल नहुँदा कार्यकर्तामा निरासा पैदा भएको छ । यस्तै पार्टी र सरकार सञ्चालनमा समेत व्यवधान पैदा भइरहेको छ ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छाड्नु पर्ने प्रचण्डको अडान र ओलीको दुबै पद नछोड्ने बरु जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहने अड्डीका कारण विवाद निष्कर्षतिर जान सकेको छैन । पटक–पटकको छलफल निष्कर्षविहीन बन्दा पार्टी फुटको नजिक पुगे पनि हालसम्म दोस्रो पुस्ताका नेताको खबरदारीका कारण शीर्ष नेता विभाजनको बाटोमा भने अघि बढेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्