मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, यी १० जिल्लामा बाढी–पहिरोको ‘खतरा’


१९ श्रावण २०७७, सोमबार
raining

काठमाडौं, १९ साउन । मनसुनी प्रणाली केहि कमजोर भए पनि नेपालमा देशभरजसो वर्षा भइरहेको छ ।

आज (सोमबार) बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ सरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रही प्रदेश–१, वाग्मती प्रदेश र प्रदेश–५ का केही स्थानहरु अन्य प्रदेशका एक–दुइ स्थानमा अहिले बर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ र सुदूरपश्चिम प्रदेश एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

त्यस्तै प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह गरेको छ । सिन्धुपाल्चोकको बलेफी जलाधार क्षेत्रमा ठूलो पानी परेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

मेलम्ची, इन्द्रावती, बलेफीका केही साना सहायक नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै आज पाँचथर, इलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, धादिङ, गोरखा, नवलपरासी, कपिलवस्तु र आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी परेका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

भोलिसम्म नै देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

मौसमविदले सिन्धुपाल्चोकलगायतका १० जिल्लामा बाढी पहिरोको बढी जोखिम औंल्याइरहेका बेला सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले पुरेर चार जनाको ज्यान गएको छ भने चार जना अझै वेपत्ता भइरहेका छन् ।

मेलम्ची–११ मा कवर्ड हल निर्माणमा खटिरहेका मजदुरलाई पहिरोले पुरेको हो । आइतबार राति २ बजेतिर आएको पहिरोले पुरिएका आठ जनामध्ये सेना, प्रहरी, स्थानीयले खोजी गरी चार जनाको शव फेला पारेका छन् भने चार जनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७