‘सुखकाे दिन कहिल्यै आएन’ भन्दै फेसबुक लाइभमा एक नेपालीले गरे मलेशियामा आत्महत्या


१९ श्रावण २०७७, सोमबार
bistaa

काठमाडौं, १९ साउन । नेपालीहरुले फेसबुक लाइभ गर्दै आत्महत्या गर्ने क्रम पछिल्लो समय बढिरहेको छ ।

पछिल्लो समय नेपालीहरुमा देखिएको ‘फेसबुक लाइभ’ आत्महत्या चिन्ताको विषय बनेको छ । फेसबुक लाइभमा गरिएका यस्ता आत्महत्याका भिडियोले मानिसको मनोबल कमजोर गराउने र यस्ता गलत कामका लागि अरुलाई समेत प्रोत्साहन गर्ने चर्चा चलिरहेका बेला फेरि एक नेपालीले आफ्नो जन्म दिनकै समयमा फेसबुक लाइभ गर्दै आत्महत्या गरेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटार घर भई मलेसियामा बस्दै आएका ५१ वर्षीया व्यक्तिले फेसबुक लाइभ गर्दै जीवन त्याग गरेका छन् ।

वैदेशिक रोजगारको क्रममा २० बर्षदेखि मलेसियाको क्वालालाम्पुरमा बस्दै आएका हेमराज बिष्टले आफ्नो जन्म दिनको अघिल्लो साँझ ९ः१६ सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका छन् ।

उनले लाइभका क्रममा भनेका छन्, ‘आज म लाइभ आउनुको कारण भोलि मेरो बर्थडे हो । त्यस्तै बाध्यताका कारण भोलि मेरो अन्तिम दिन पनि हो । धन सम्पत्ति होस् नहोस् कसैले फुर्ति नगर्दा हुुन्छ । एक दिन जानु जरुरी छ । सम्पत्ति त मसँग पनि कहाँ कम छ र ? दुःख गर्दा सम्पत्ति हुँदो रैछ । मलाइ नपुगेर हैन । कसैसँग झगडा भएर पनि हैन । म ५१ बर्षको भएँ । आजका दिनसम्म कहिले सुखका दिन आएन । अनि किन बाच्नु ?’

४७ सय साथी भएको फेसबुकमा उनले भनेका छन्, ‘मलाइ बाँच्न मन भएन । ममाथि गएर ठाउँ बनाउँदै गर्छु । जाने त दिन निश्चितै छ । यहाँ कसैले अजम्बरी जीवन पाएको छैन । त्यसैले जानैपर्छ ।’

आफ्नो कमाइको करिब ११–१२ हजार रिङरेड (मलेसियन मुद्रा) देखाउँदै उनले भनेका छन, ‘यो मेरी श्रीमतीले पाउन ।’

जन्मदिन मनाउन साउन १८ गते र १ः२५ रातको समय मिलाउदै उनले आत्महत्या गरेको साथीहरुले जानकारी दिएका छन् । उनका श्रीमती र दुई छोरा छन् । जेठा छोरा सिभिल इन्जिनियर हुन् भने कान्छा नेपाल प्रहरीमा सेवा गर्छन् ।

उनको शवलाइ मलेसिया क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रियापछि नेपाल ल्याउने तयारी भइरहेको मलेसियामा रहेका उनका आफन्तले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७