जग्गाधनी पुर्जाविहीन चार सय घरधुरी


२२ आश्विन २०७४, आईतवार
aasam

काठमाडौं : अछामको मेल्लेख गाउँपालिका–३ का ४०० घरधुरी जग्गाधनी पुर्जा ‘लालपुर्जा’बाट अहिले पनि वञ्चित छन् । जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको हो ।

aasam

अछामको पुनःनापी कार्य भएसँगै विसं २०७१ मा विशेष नापी अछामले नापनक्सा कार्य सम्पन्न भए पनि लालपुर्जा पाउन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । लालपुर्जा पाउने वातावरणका लागि विभिन्न निकायसँग पहल गर्दा पनि कसैले चासो नदिएको उनको भनाइ छ ।

जग्गा नापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने राज्यकोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानी भइरहेको छ । राज्यका लागि जग्गाको तिरो राजस्व संकलनमा पनि लालपूर्जा नहुँदा समस्या सिर्जना भएको स्थानीय खड्कबहादुर शाहको भनाइ छ ।

सामान्य कृषि ऋण लिनबाट पनि आफूहरु वञ्चित हुनुपरेको उनले बताए । ‘विशेष टोलीले नापनक्सा गरायो तर दर्ता प्रक्रिया कसैले सहयोग गरेन’ उनले दुःखेसो पोखे ।

विशेष नापी टोलीले जग्गा नापनक्सा गरिसकेको भए पनि पुरानो कागजात केहीँपनि फेला नपर्दा समस्या भइरहेको बताइएको छ । नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सीयाराम ठाकुरले बताए । पटकपटक विभिन्न सरोकार भएकासँग परामर्श गर्दा पनि लालपुर्जा दिन नसकेको र मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ ।

यता जग्गा दर्ता प्रक्रिया पूरा गर्न र लालपुर्जा वितरण गराउनका लागि गाउँपालिकाबाट निर्णय गरिसकेको मेल्लेख गाउँपालिका प्रमुख लोकबहादुर बोहराले बताए। आफू त्यसै कामका लागि एक हप्तादेखि भूमिसुधार मन्त्रालय र केन्द्रीय नापी विभागमा धाइरहेको प्रमुख बोहराले बताए ।

जग्गा दर्ता गराई लालपुर्जा वितरण गर्नका लागि आफू निरन्तर खटिरहेको भन्दै बोहराले अब छिट्टै वडावासीलाई लालपुर्जा वितरण गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७