‘श्रीमतीको कमाइले जिन्दगी चलेको छ’


१८ माघ २०७४, बिहीबार

एमालेको केन्द्रीय भूमिकामा रहेका नेतामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा कहीँ पनि उम्मेदवार नबनाइएका ठाकुर गैरेको पक्षमा सहानुभूतिको लहर छ । ०६२/६३ को जनआन्दोलनमा विद्यार्थी मोर्चाबाट नेतृत्व सम्हालेका उनी अखिलका अध्यक्ष थिए । पाल्पाली हुन् । यसचोटि त्यहाँबाट उठ्ने कुरा चुनावअघि नेताहरूले नै पक्कापक्की गरे । तर, ०४८ देखि चुनाव उठ्दै आएका सोमप्रसाद पाण्डेले टिकट पाए । राष्ट्रिय सभाको निर्वाचनमा पनि चर्चा चल्यो । तर उनी छनोटमा परेनन् । गैरेसँग गरिएको कुराकानी :-

Thakur Gaire
ठाकुर गैरे, एमाले युवा नेता

० पार्टीले उम्मेदवार नबनाएको भनेर बजार गर्माएको छ । के भन्नुहुन्छ ?
– पार्टीले गरेको व्यवहारका कारण बाहिर प्रश्न उठेजस्तो लाग्छ । मेरो प्रश्न छ, म उम्मेदवार बन्न अक्षम देखिनुका कारण वा कमी कमजोरी के हो ? कि योग्यता नै अपुग भएको हो ? मैले विद्यार्थी आन्दोलनमा जति काम गरेँ, पार्टीमा पनि त्यहीअनुरुप गरेको छु । आठाैं महाधिवेशनमा कुनै गुटको उम्मेदवार नबन्दा पनि केन्द्रीय सदस्य जितेको हुँ । गुटविहीन मान्छेलाई केन्द्रीय सदस्य जिताउने महाधिवेशन प्रतिनिधिहरूले बिनाकारण पक्कै पनि भोट हाल्नुभएको थिएन । जहिल्यै पार्टीले तोकेको मापदण्डअनुरुप काम गरेको छु । तर, मैले यसरी काम गरिरहँदा माथिबाट किन अड्काइन्छ र त्यसको सही जवाफ दिइँदैन ?

० तपार्इंमाथि नै पटक पटक यस्तो किन हुन्छ त ?
– पार्टीको न्याय प्रणाली के हो ? कार्यकर्ताको मूल्याकंन के हो ? सबैले जनप्रतिनिधिकै रुपमा निर्वाचित भएर माथि जानुपर्छ भन्ने छैन । तर, त्यसको क्षमता र कार्य मूल्याकंन त चाहिन्छ नि !  राष्ट्रियसभा सदस्यमा पार्टीले सबैको योग्यता हेरेर नै उम्मेदवार छनोट ग¥यो । त्यही कोटाभित्र म पनि सिफारिसमा परेको थिएँ । अहिले एकाएक उम्मेदवार बन्नबाट किन वञ्चित गरियो भन्दा पार्टीले जवाफ दिएको छैन ।

० आफैँलाई के लाग्छ, अन्याय भयो वा योग्यता पुगेन ?
– पार्टीको सिद्धान्तबाहेक न एनजिओ, आइएनजिओ न त ठेक्कापट्टामै लागेको छु । न मैले कहिल्यै यति वर्षपछि सांसद अनि मन्त्री, प्रधानमन्त्री हुन्छु भन्ने सोचेको छु र न कहिल्यै सोच्नेछु । पार्टी र जनताको बीचमा उभिएर जिम्मेवारी बहन गर्नुभन्दा एक इञ्च तलमाथि भएर काम गर्ने छैन । तर, अहिले पार्टीले ममाथि गरको दुव्र्यवहारप्रति बाहिर जनतामाझमा अनेकै शंका उब्जिएको छ । अघिल्लो प्रतिनिधिसभामा चर्किएको आवाज अहिले झनै चर्किएर आएको छ । देशको बौद्धिक र शिक्षित वर्गले यसमाथि प्रश्न उठाएपछि म पनि केही सचेत भएको छु ।

thakur gaire uml youth leader

० तपाईंसँगै राजनीतिमा होमिएका साथीहरू राजकीय पदमा पुगेका छन्, तर तपार्इं किनारामै हुनुहुन्छ ।
– व्यक्तिविशेष नियालेर यस्तोखालको काम गरिएको छ भने त्यसले नवप्रवेशीलाई धक्का पुग्छ । पार्टीले खटाएको काम, निष्ठापूर्वक गरेको नाताले को साथी कहाँ पुगे त्यो म जान्दिनँ ।

० चर्चा छ, कमजोर गुटको पछि लागेको कारण पछाडि पर्नुभयो ?
– आठौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सर्वाेच्च नेता बहुमतप्राप्त व्यक्ति चुनिनुपर्ने व्यवस्थातर्फ अघि बढ्यो । योभन्दा अघि पनि यो व्यवस्था छँदै थियो । उक्त महाधिवेशनमा तत्कालीन अध्यक्षका लागि झलनाथ खनाल र महासचिवमा इश्वर पोखरेललाई समर्थन गरेको थिएँ । नवौँ महाधिवेशनमा माधव नेपाललाई समर्थन गरेँ । कार्यकर्ताले आफूलाई भोट नहालेको नाममा यस्तो मूल्यांकन गरेको हो भने मापदण्ड यस्तैखालको बनाउनुप¥यो । नत्र, किन कुरा एकथरी, काम अर्कैखाले गरिन्छ ? के कसैको क्षमता र योग्यताको कदर गर्न नपाउने हो ! गुटको कुरा गर्ने हो भने, आठाँै राष्ट्रिय महाधिवेशनमा म स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा विजयी भएँ । एउटा पक्षलाई समर्थन गर्दागर्दै पनि मलाई टिममा हालिएन । एक्लै भोट मागेँ ।

भर्खर अखिलको अध्यक्षबाट बिदा भएको थिएँ । जनआन्दोलनको ताप बाँकी नै थियो, मेरो भूमिका देशभरका कमरेडहरूले देख्नुभएको थियो । उहाँहरूले हालेको भोटबाट जितेँ । कार्यकर्ताले मतदान गरेपछि निर्वाचित भएको व्यक्ति नै सर्वाेच्च नेता हो नि ! जसले पार्टी र देशलाई अघि बढाउन खोज्छ, उसैलाई त सहयोग गरिन्छ । आज अध्यक्ष केपी ओली हुनुहुन्छ । उहाँको अध्यक्षतामा बसेको बैठकमा गएर पार्टी अध्यक्ष उहाँ होइन भन्न सकिन्छ ? सकिँदैन । गुट थियो भने हिजो थियो, महाधिवेशनमा । त्यसपछि सबैको एउटै गुट एमाले हो, अरू केही होइन । महाधिवेशनअघि कसैले माधव नेपाललाई अध्यक्ष माने होलान्, कसैले केपी कमरेडलाई । तर, फैसला आएपछि जसले जित्यो, पार्टी त्यसैको नेतृत्वमा चल्ने हो, चलिरहेको छ । महाधिवेशनको फैसलालाई हामीले एक इञ्च पनि धरमराउन दिएका छैनौँ । तर, त्यही महाधिवेशनमा कसैले कसैलाई भोट हालेको र नहालेको नाममा अन्याय हुन्छ भने त्यसको प्रतिवाद महँगो पर्न जान्छ । हामी त्यहाँसम्म पुगेका छैनौँ । तर, बिरालो भन्दैमा सधैँ चुक्कुल थुनेर कुट्यो भने त्यो बिरालो एकदिन बाघभन्दा खतरनाक बन्छ ।

० टिकट नपाएपछि कुनै ‘अफर’ आयो कि ?
– पार्टीको निर्णयअनुरुप नै पाल्पाबाट सर्वसम्मत सिफारिसमा परेँ । एकमुठी श्वास हुञ्जेलसम्म पार्टीको झन्डा र जनताको विश्वासलाई एक इञ्च पनि गिराउने छैन । तर, योचाहिँ सत्य नै हो कि, ‘पहिला उम्मेदवार बनाएर अन्यथा भयो, अब जसरी हुन्छ राष्ट्रियसभामा नगई नहुने भयो’ भन्दै फेरि प्रस्ताव अघि बढाइयो । हाम्रै आदरणीय नेताहरूले आफ्नै मुखबाट बोल्नुभएको कुरा हो यो ।
० माधव नेपालको सम्धिलाई रोज्दा तपाईंमाथि अन्याय भएको त हो नि !
– एउटा कम्युनिष्ट पार्टीभित्र पैसा, पद, प्रतिष्ठा र गुटका आधारमा निर्णय गर्नु नीति सिद्धान्तमा पर्छन् कि पर्दैनन् ? सबैले बुझेका छौँ । पार्टीमा को, कसको नाता पर्छ, त्यो म जान्दिनँ । कैयौँ साथीले पाँचौँ पटकसम्म पनि चुनाव लडिरहनुभएको छ । धनी र गरिबको अन्त्य हुने पार्टीमा नातावाद, पैसा र प्रतिष्ठाको निर्णयले देशको कुभलो गर्दैन ।

० तपाईंकै विषयलाई लिएर योगेश भट्टराई र विष्णु पौडेलबीच झण्डै कुटाकुट नै भयो भनेर अनलाइनहरूले लेखे । यो घटना साँच्चिकै हो ?
– स्थायी कमिटीको बैंठकमा ‘नोट अफ डिसेन्ट’ सम्म लेखिएको कुरा छ । मलाई लाग्दैन कि, हाम्रा नेताहरू कुटाकुटको तहमा ओर्लिन्छन् । विचारको बहस हुन्छ, लाइन नमिल्न सक्छन् । तर, भौतिक आक्रमणमा उत्रिने कुरा एमालेभित्र चल्दैन ।

० जिन्दगी कसरी चलाउनुभएको छ ?
– श्रीमती चित्रा गैरे त्रिविको डिन कार्यालमा ‘हेल्प असिस्टेन्ट’ को रुपमा कार्यरत छिन् । एक छोरा र एक छोरी छन् । चित्राले नै पालेकी छन् । औंशी–पूर्णेझैँ कहिलेकाहीँ मैले पनि सकेको सहयोग गरेको छु । जसोतसो जीवन चलिरहेको छ । छोरीले त्रिवि कीर्तिपुरमा स्नातकोत्तर अध्ययन गर्र्दै छ । छोरा स्नातक तहमा छ । म पार्टीमा पूर्णकालीन भइहालेँ ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७