लगानी बोर्डको सिइओमा सुशील भट्ट नियुक्त


१९ श्रावण २०७७, सोमबार
sushil bhatta 1.jpg .2020 08 03 1

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

‘मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई लगानी बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो,’ ती मन्त्रीले भने । भट्टलाई मुलुकका ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालगायत नेपालको पूर्वाधार विकासका दर्जनौं योजना अलपत्र पारेको भट्टमाथि आरोप छ । सुशील र दीपक भट्टले सेना र प्रहरीको रासन, हतियारदेखि, विद्युत् उत्पादन र प्रसारणका ठेक्कामा हात हालेका छन् । यसअघि वर्तमान गभर्नर महाप्रसाद अधिकारी यो जिम्मेवारीमा थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको समितिले सिफारिस गरेका तीन जनामध्ये एक जना हुन् सुशील । भट्ट नेपालमा काम गर्ने धेरै कम्पनीका एजेन्ट हुन् । चिनियाँ कम्पनीहरू चाइना पावर ग्रिड (सिसिपिजी), चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी), सेन्जेन फराद इलेक्ट्रिक, ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन, सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको स्थानीय एजेन्टका रूपमा उनीहरूले काम गर्दै आएका छन् ।

त्यस्तै, भारतीय कम्पनीहरू जागुअर ओभरसिज एन्ड बिएस लिमिटेड, आइकोम टेली लिमिटेडलगायतको नेपालस्थित स्थानीय एजेन्ट पनि उनीहरू नै हुन् । ‘उनीहरूले ठेक्का लिने, तर काम अलपत्र पार्ने गरेकोले फेरि ठेक्का लगाउँदा आयोजनाको लागत नै बढ्ने गरेको छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने ।

सरकारले २४ चैतमा तत्कालीन सिइओ महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गरेपछि बोर्डको सिइओ पद रिक्त रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५ जेठमा बोर्डको सोे पदका लागि दरखास्त आह्वान गरेको थियो ।

सिइओ पदका लागि भट्ट, डा. कोइराला र खतिवडासँगै कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष कृष्ण आचार्य, पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, विशेष आर्थिक क्षेत्र (सेज) का पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट, लगानी बोर्डमै परामर्शदाताका रूपमा काम गरिरहेका पूर्वाधारविज्ञ आशिष गजुरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रमेशचन्द्र पौडेल र शेरजंग कार्कीले आवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७