पाँचथरमा बाढी–पहिरो : एकको मृत्यु, पुल जोखिममा, सडक अवरुद्ध

खेती र तीन जलविद्युत् आयोजनामा क्षति


२० श्रावण २०७७, मंगलवार
1596438474 Untitled 1

पाँचथर, २० साउन । पाँचथर सदरमुकाम फिदिम बजार आएर घर फर्कदै गरेका फिदिम नगरपालिका ११ सेजेपाका ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको पहिरोमा परी मृत्यु भएको छ । आइतबार बेलुका आफन्तकोमा बास बसेर बिहान घर जान भनि हिंडेका उनको सेजेवा भिरमा झरेको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले उनले ज्यान गुमाएको प्रकृति हेर्दा पहिरोमा परेको प्रारम्भिक अनुमाग गरेको बताए । उनको माथिबाट ढुङ्गा झरेर लागेपछि मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान शुरु भएको उनले बताए । श्रेष्ठको शव पोष्टमाटमका लागि सदरमुकाम पठाइएको छ ।

अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो ।

बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम–फालोट सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ । यस्तै फिदिम–७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम–रानीटार–लुङरुपा सडक अवरुद्ध बनेको छ । यहाँ पनि नगरपालिकाले स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।

फेमे खोलामा आएको बाढीले फिदिममै पर्ने तीन वटा साना जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले आयोजनाको पाइपलाइन बगाउँदा तीन वटै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । बाढीले फेमे खोलाको तटीय क्षेत्रमा रहेको आयोजनाको पाइपलाइन बगाएको हो ।

बाढीबाट फेमे खोला साना जलविद्युत् आयोजना र बिके हाइड्रोपावरका दुई वटा आयोजनामा क्षति पुगेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

बाढीले यी आयोजनाको करीब ७० मिटर पाइपलाइन बगाउनुका साथै कजवेमा क्षति पुर्‍याएको छ । क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना ९९८ किलोवाट तथा बिके हाइड्रोपावरका १५० र २४० किलोवाट विद्युत् उत्पादन बन्द भएको हो ।

बाढीले फिदिम नगरपालिका वडा नं. १, ७ र ११ मा पर्ने फेमे खोलाको तटीय क्षेत्रका केही घर जोखिममा पर्नुका साथै धान खेती र अलैंची बगानहरुमा क्षति पुर्‍याएको छ । फिदिम–११ का नवराज न्यौपानेका अनुसार बाढीबाट २० जनाभन्दा बढी स्थानीयको खेत तथा अलैंची बगानमा क्षति पुगेको छ ।

बाढीले तटीय क्षेत्रमा कटान गर्नुका साथै केही खेत तथा अलैंची बगान पुरेको छ । दर्जनौँ स्थानीयको खेतबारीमा क्षति पुगेपनि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रनाउ न्यौपानेले बताए । प्रहरीले बाढी तथा पहिरोको जोखिममा रहेका परिवारहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ ।

कतिपय स्थानमा प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रियतामा जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कामसमेत शुरु भएको प्रनाउ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७