अहेब सबिना भन्छिन्–खुल्ला ठाउँमा को आउँछ यौन उपचार र परामर्श लिन !


१८ माघ २०७४, बिहीबार
Sutkeri

गोविन्द पौडेल

इलाम, १८ माघ : एउटा घेराबेरा नभएको टिनको टहरो, छेउमा राखिएको टेवलमा थुपारिएको औषधि र औजारहरुको थुप्रो, दुई-चार वटा मुडामा भर्खर जन्मिएका शिशु बोकेर उपचारका लागि पालो पर्खिरहेका सुत्केरी आमा अनि उभिएर उपचार सेवा दिइरहेका स्वास्थ्यकर्मी ।
झट्ट हेर्दा यो दृष्य कुनै विपदपछिको प्राथमिक उपचार जस्तो लाग्छ ।Sutkeri

तर, इलाम जिर्मलेस्थित रम्भ्याङ्ग गाउँको यो दृष्य कुनै विपदपछिको अस्त–व्यस्त अवस्था नभई वर्षौदेखिको वाध्यता हो । स्वास्थ्य चौकी सञ्चालनका लागि भवन नभएपछि स्थानीय विद्यालयले ‘विजोक’ देखेर उपलब्ध गराएको छानो मात्र भएको ‘टहरो स्वास्थ्य चौकी’ को कथा हो । रोङ्ग गाउँपालिकाको जिर्मलेका सयौं बिरामीलाई स्थानीय सरस्वती माविले उपलब्ध गराएको यहि सानो टहराबाट यसरी नै उपचार सेवा दिंदै आएको छ । स्वास्थ्य चौकीको आफ्नो भवन नहुँदा विरामीलाई मात्र होइन स्वास्थ्यकर्मीलाई समेत समस्या छन् ।

यो स्वास्थ्य चौकीमा काम गर्नु हुने अनमी सबिना घिमिरेको काँधमा एउटा झोला कहिल्यै छुट्दैन । यो झोला बोकेर हिड्नु उनको रहर नभई बाध्यता हो । कार्यालयमा औषधि राख्ने ठाउँ नभएपछि बिहान कार्यालयमा ल्याएको औषधि र उपकरण औजार फेरि राति आफ्नै घरमा लैजानु पर्ने वाध्यता रहेको उनी सुनाउँछिन् । विद्यालय भवन निर्माणको क्रममा रहेकाले उक्त टहरोबाट विरामीलाई उपचार सेवा दिन कठिनाइ भइरहेको स्वास्थ्यय चौकीका सिनियर अहेव सुनिल पोखरेल भन्छन्–‘औषधि राख्ने, बस्ने ठाउँ छैन । दिनभर उभिएर उपचार सेवा दिन पर्दा आफ्नै खुट्टा बाउँडेला जस्तो गरी दुख्छ ।’

नेपालमा स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गरिए पनि ब्यबस्थित स्वास्थ्य सेवा उपलब्ध नगरिंदा विकट गाउँका स्वास्थ्य चौकीहरु विजोकको अवस्थामा छन् । सरकारको निर्देशन अनुसार मासिक रुपमा क्लिनिकमा गर्भवतीहरुको नियमित जाँच, नवजात शिशुहरुलाइ खोप, अन्य खोपसेवा, परिवार नियोजनसम्बन्धी सेवा र परामर्शहरु दिइने गरेको जानकारी दिंदै अनमी सबिना भन्छिन्–‘खुल्ला ठाउँमा सुत्केरी र गर्भवती आमाहरुलाई यौन परामर्श दिन हामी र बिरामी दुबैलाई असजिलो हुन्छ ।’

उसै त बिरामी त्यसमाथि दिनभर भुईमा बसेर पालो पर्खेर उपचार सेवा लिनु पर्दा विशेष गरी सुत्केरी, वृद्धवृद्धा र साना बालबालिकालाई समस्या हुने गरेको स्थानीय बताउँछन् । स्वास्थ्य चौकीको स्थायी भवन नहुँदा औषधि र औजार बोकेर हिंड्नु उकालो–ओरालो हिंड्नु पर्दा किडन हुने बताउँदै सिनियर अहेव सुनिल पोखरेल भन्छन्–‘घाम–पानीबाट सुरक्षित जोगाउनु पर्ने औषधि जस्तो संवेदशनशील कस्तु दिनहुँ बोकेर हिंड्दा कति प्रभावकारी होला आफै अनुमान लगाउनुस त !’

रोङ गाउँपालिकाका कुवापानी, पाटापुर, लामीटार र सलकपुर स्वास्थ्य केन्द्रहरु केहि व्यवस्थित भए पनि यहाँको अवस्था भने दयनीय रहेको गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मनिकुमार स्याङ्गबो बताउँछन् । उनले भने–‘अहिले गाउँभरका स्वास्थ्य संस्थाहरुको अवस्था पहिचान गर्ने काम भइरहेको छ । गाउँपालिकाको आउँदो बजेटमा यहाँको समस्या सम्वोधन गर्छौ ।’ यता स्वास्थ्य चौकीका लागि टहरो उपलब्ध गराइरहेको सरस्वती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशर प्रधान केहि दिनमा विद्यालय भवन पूरा भएपछि एउटा कोठा उपलब्ध गराउने सोंचमा आफूहरु रहेको जानकारी दिए । जिर्मले मात्र होइन अन्य गाउँहरुका स्वास्थ्य चौकीहरु पनि भवन अभावका कारण समस्यामा छन् । इलामका धेरैजसो गाउँमा वर्थिङ्ग सेन्टर सञ्चालन भए पनि पर्याप्त भवनको अभाव छ । कतिपय स्वास्थ्य चौकी भाडाको सानो कोठामा सञ्चालन भइरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने सबैजसो गाउँहरुमा स्वास्थ्य संस्थाका भवन बन्नेक्रममा रहेकाले केहि वर्षभित्र यो समस्या हटेर जाने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७