पर्सामा डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण


२० श्रावण २०७७, मंगलवार
narayani 1

पर्सा, २० साउन । कोरोनाको ‘हटस्पट’ बनिरहेको पर्सामा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा डाक्टर, नेपाली सेना, थुनुवा र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष छन् ।

सोमबार अबेर राति संक्रमण पुष्टि भएका ३४ मा वीरगञ्ज ब्यारेकका २८ देखि ३४ बर्षका तीन जना नेपाली सेना, पर्सा वीरगञ्जका २२ बर्षका एक जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका एक थुनुवा र बयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एक–एक डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिए ।

यस्तै वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जना, स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका पाँच जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका–२ का एक जना पुरुष र दुई महिला रहेका छन् भने पर्सा सेढवाका २२ बर्षका एक युवा रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

यस्तै बारा कलैयाका २९ बर्षका एक पुरुष र बारा फेटा गाँयपालिका–४ का २८ बर्षका एक पुरुष र सर्लाही मलगंवा–८ का ४८ बर्षका एक जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए ।

साउन १४ गते देखि १८ गते सम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएका छन् । पर्सामा कोरोना संक्रमितको संख्या ६१४ जना पुगेको नारायणी अस्पतालका डा. सिंहले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७