४५ करोडको खानेपानी आयोजनाको धारामा दुई महिनामै पानी झर्न छोड्यो


२० श्रावण २०७७, मंगलवार
tap

संखुवासभा, २० साउन । संखुवासभाको बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ ।

सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरु भएको हो । मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको थियो ।

खानेपानी आयोजनाले पाँच पटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

रु ४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन् । सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए । निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मत सम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो ।

सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो । सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताए ।

किमाथाङ्का–खाँदबारी सडकखण्डमा पाइप विस्तार गरिएकाले समस्या भएको हो । यस सडक खण्डमा बेलाबेला सडक चौडा पार्ने र मर्मत कार्य भइरहेको छ । यस सडकखण्डमा काम गरिरहेको उत्तरदक्षिण (कोशी) सडक आयोजना कार्यालयले पटक–पटक सडकमा पाइप नराख्न भने पनि खानेपानी आयोनाले त्यसलाई बेवस्ता गर्दै मुख्य सडकमै पाइप विस्तार गरेको थियो ।

खानेपानी सञ्चालन हुन नसक्दा खाँदबारी नगरपालिका–१ देखि ९ वडाका विभिन्न स्थान, चिचिला गाउँपालिकाको चिचिलाबजार क्षेत्र र कुवापानीसहितका तीन हजार ५०० घरधुरी खानेपानीबाट वञ्चित हुनुपरेको छ ।

खानेपानी वर्ष दिनसम्म बन्द रहँदा समेत यसमा सम्बन्धित पक्षको ध्यान पुग्न नसकोको उपभोक्ताको गुनासो छ । खानेपानी संस्थाले जडान शुल्कवापत उपभोक्ताबाट अग्रिमरूपमा रु दुई करोड ५० लाखभन्दा बढी रकम उठाए पनि पानी खान नपाउँदा स्थानीयवासी आक्रोशित छन् ।

गलत डिजाइन र गलत परामर्शका कारण सडकमा पाइप लाइन विस्तार गरिएकाले अहिले यस्तो समस्या आएको खानेपानी संस्थाका अध्यक्ष नरेन्द्र राई बताए । पाइप सडकमा बिछ्याउने काम नै गलत भएकाले अहिले पानी वितरण गर्न नसकिएको अध्यक्ष राईले बताए । दाताको सहयोग बिना संस्थाले पाइप मर्मत गरी पानी वितरण गर्न नसक्ने उनको भनाइ छ ।

आयोजनाका लागि उपभोक्ताबाट थप रकम
खानेपानी योजना निर्माण सम्पन्न गरी हस्तान्तरण भएको दुई महिना पछि सञ्चालन हुन नसकेको योजना मर्मतका लागि पुनः उपभोक्तासँग थप रकम लिने भएको छ ।

पाइपलाइन मर्मतका लागि तेस्रो साना सहरी खानेपानी आयोजनाले रु चार करोडभन्दा बढी रकम दिने भएपछि खानेपानी संस्थाले पुनः उपभोक्ता मार्फत थप पाँच प्रतिशत रकम उठाउने खानेपनी संस्थाले जनाएको छ । तेस्रो साना शहरी खानेपानी आयोजनाले पुरानै स्थानमा पाइप रहने गरी मर्मतका लागि बोलपत्र आह्वान गरेको हो ।

खानेपानी संस्थाले यसअघि जडान शुल्क बापत उपभोक्ताबाट अग्रिमरूपमा रु दुई करोड ५० लाख (पाँच प्रतिशत) भन्दा बढी रकम उठाएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रमा मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी संस्थाले पुनः मर्मत गर्न लागेको हो ।

खानेपानी संस्थाले पुनः सडकमा नै पाइप राख्ने गरी योजना सञ्चालन हुन लागेको खानेपानी संस्थाले जनाएको छ । सडकभन्दा बाहिरबाट पाइप विस्तार गर्न ठूलो रकम खर्च हुने भएकाले पुनः सडकमा नै पाइप विस्तार गर्न लागिएको खानेपानी संस्थाका अध्यक्ष राईले बताए ।

मर्मतका लागि गरिएको बोलपत्र आह्वानमा गैरी पामा र कुवापानीमा रहेको पानी प्रशोधन ट्याङ्की र्ममतसहित क्षति भएको पाइप मर्मत गर्ने खुलाइएको छ । यता उपभोक्ता भने पुनः खानेपानी सञ्चालनमा आउन नसक्ने बताउँछन् । तेस्रो साना शहरी खानेपानी आयोजनाले गर्ने खर्च बालुवामा पानी हाले जस्तै हुन सक्ने भन्दै यसका लागि वैकल्पिक मार्ग प्रयोग गरेर पाइप विस्तार गर्नु पर्ने उभोक्ताहरुको माग छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७