संक्रमण बढेपछि विज्ञसँग प्रधानमन्त्रीको छलफल, विपक्षी दलका नेता समेत सहभागी


२० श्रावण २०७७, मंगलवार
PM Swasthya Bigya Paramarsha

काठमाडौं, २० साउन । लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग छलफल अगाडि बढाएका छन् ।

बालुवाटारमा जारी छलफलमा विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् ।

नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका छन् ।

सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ । संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिए पनि सरकारले औपचारिक घोषणा गरेको छैन ।

राजधानी काठमाडौंमा पनि कोरोना संक्रमण फैलिँदै गएपछि सरकारको आगामी कदमबारे प्रधानमन्त्रीले विज्ञहरु र शीर्ष नेताहरुसँग राय लिन खोजेका हुन् ।

स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँगको परामर्शमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको छ भने ४ लाखको पीसीआर टेस्ट भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाबाट ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७