शिशु चौरमा भेटिएको भन्दै झुठो प्रचार : हिजो सहयोग, आज फिर्ता


२० श्रावण २०७७, मंगलवार
kapan child

काठमाडौं, २० साउन । २० साउन, काठमाडौं । साउन १३ गते कार्टुनमा राखिएको बच्चाको एउटा तस्वीर एकैछिनमा सामाजिक सञ्जालमा भाइरल बन्यो । कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा शिशु भेटिएको कुराले सबैको ध्यान तान्यो, मन रोयो ।

केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो ।

यहाँसम्मकी सुन्दर शिशुको तस्विरका कारण देश–विदेशका नेपालीको मन पग्लियो, धेरैले विभिन्न माध्यमबाट आर्थिक सहयोग गरे, नजिक हुनेले चामल, लत्ताकपडादेखि कुखुराको भालेसम्म लिएर सहयोग गर्न केयर बालगृहसम्म पुगे ।

अनौठो रुपमा शिशु भेटिएको घटना सोही बेला पनि केहि शंकास्पद मानेकाहरुले पनि एउटा बालगृह सञ्चालन गरिरहेकी जिम्मेवार संस्थाकी सञ्चालकमाथि अविश्वास गरेनन् । मनमा सानोतिनो शंका भए पनि एउटा अवोध शिशुको तत्कालीन अवस्थाले सबैको मन पग्लियो । तर अहिले घटना एकाएक नयाँ मोडमा आइपुगेको छ । शिशु भेटिएको घटनाले बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी मात्र छैनन् । हिजो मन खोलेर सहयोग गरेकाहरुमाथि नै धोका भएको छ ।

अवोध शिशुलाई देखाएर नियोजित रुपमा रकम संकलन गर्ने पुष्पाको नियत बाहिरिएपछि हिजो विभिन्न माध्यमबाट शिशुलाई सहयोग गरेकाहरु आज उक्त सहयोगका रकम र सामान फिर्ता लिइरहेका छन् । शिशु भेटिएको केहि दिनमै पुष्पालाई देश विदेशबाट लाखौं सहयोग जुटेको थियो ।

तर घटना नियोजित भएको पाएपछि हिजो उनको सहयोगका लागि रकम जुटाउन सहयोग गर्ने सञ्चारमाध्यमहरुसहित व्यक्तिहरुले समेत रकम र जिन्सी सामानहरु फिर्ता लिएका छन् । पुष्पालाई छोटो समयमै देश विदेशबाट ६ लाख रुपैंयाँ रकम उठेको थियो ।

नियोजित रुपमा शिशुको आमासँगको मिलेमतोमा शिशुलाई कार्टुनमा राखेर रकम संकलनको नाटक गरेको घटना बाहिरिएपछि अहिले प्रहरीले बालगृह सञ्चालक पुष्पा अधिकारीमाथि अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएको पाइएको छ ।

उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् । संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालिन् ।

त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ । जब शिशु बेवारिसे होइन भन्ने खुल्यो, बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोप समेत लागेको छ ।

संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७