‘बाटो फेरेका’ वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रचण्ड


२० श्रावण २०७७, मंगलवार
bamdev gautam and prachanda

काठमाडौं, २० साउन । पछिल्लो समय एकाएक ‘बाटो फेरेर’ प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँगै नजिकिएका उपाध्यक्ष वामदेव गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनकै निवास भैंसेपाटी पुगेर भेटघाट गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले भेटेर फर्किएको एक साता नपुग्दै अर्का अध्यक्ष प्रचण्ड गौतम निवास पुगेका हुन् । नेकपामा नेतृत्व कायम गर्न ६ बुँदे प्रस्ताव पेश गरेका गौतमलाई आफ्नो पक्षमा सहमत गराउन प्रचण्ड भैंसेपाटी पुगेको स्रोतको भनाइ छ ।

केही वर्षदेखि प्रचण्डसँगै निकट रहँदै आएका गौतम पार्टीभित्रको विवाद चरम विन्दुमा पुगेका बेला पछिल्लो समय एकाएक ओलीको पक्षमा पार्टीभित्र वकालत गर्न थालेका छन् । गौतम निकट नेकपाका एक नेताका अनुसार प्रचण्ड बिहान ११ बजे भैंसेपाटी पुगेर करिब एक घण्टा छलफल गरेका थिए । स्रोतका अनुसार उनीहरुको छलफल नेकपाको आन्तरिक विवाद र सरकारको गतिविधिमा केन्द्रित थियो ।

‘उहाँहरुबीच करीब एक घण्टा जति पार्टीभित्र देखिएको विवाद समाधान र अन्य विषयमा कुराकानी भयो’, स्रोतले भन्यो । स्रोतका अनुसार बालुवाटारको बोलावटपछि उपाध्यक्ष गौतम अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि घरबाट निस्केका थिए । सोही समयमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमलाई आफू भेट्न आउन लागेको जानकारी दिएका थिए ।
अध्यक्ष प्रचण्ड आाएपछि बालुवाटारका लागि निस्किसकेका गौतम पुनः निवासमा फर्किएको स्रोतले जानकारी दिएको छ ।

नेतृत्व कायम गर्न ६ बुँदे प्रस्ताव पेश गरेका गौतमलाई आफ्नो पक्षमा सहमत गराउन प्रचण्ड भैंसेपाटी पुगेको गौतम निकट स्रोतको भनाइ छ । गौतमले पार्टीभित्रको विवाद समाधान गर्न ओली पूरै कार्यकाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई अधिकार सम्पन्न अध्यक्ष बनाउनुपर्ने सहितका ६ बुँदे प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई दुवै पक्षले स्वीकार गरेका छैनन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको र विवाद समधानका लागि गरिएका प्रयासहरु पनि असफल बन्दै गइरहेका बेला प्रचण्डले गौतमलाई भेट गरेका हुन् । आज साँझ प्रधानमन्त्री ओलीलाई भेट्नुअघि प्रचण्डले उपाध्यक्ष गौतमललाई भेटका हुन्।

साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकतर्फि रुपमा स्थगित गरेपछि बहुमत सदस्यलाई लिएर प्रचण्डले बैठक सञ्चालन गरेका थिए ।
आफू विनै बैठक सञ्चालन भएपछि प्रधानमन्त्री ओली सोही दिन साँझ उपाध्यक्ष गौतमलाई भेट्न भैंसैपाटी पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७