कोरोना नियन्त्रणको अबको रणनीति भन्दा आफ्नै नेताको आलोचनामा प्रमको बढी समय खर्च

‘टेलिभिजनको पर्दामा होइन, रेस्क्यु स्थलमा देखिन्छ सरकार’


२० श्रावण २०७७, मंगलवार
kp oli

काठमाडौं, २० साउन । देशका विभिन्न जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोरोना नियन्त्रणका अबका रणनीति र उपाय भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुको आलोचनामा समय खर्चिएका छन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संकटको घडीलाई विरोध गर्ने अवसरका रुपमा सदुपयोग नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको गुनासो र आलोचनाको प्रहार आफ्नै पार्टीका नेता–कार्यकर्तातिर थियो ।

उनले संकटको बेलामा गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि पोखरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढङ्गले नलिएको गुनासो गरे ।

उनले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवाह, जनताप्रति उदासीन र स्वार्थका पछाडि कुदेको टिप्पणी गरेका छन् । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् ।

उनले भने, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ ।

तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोंच केही पनि छैन । तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो त्यस बाहेक केही छैन ।’

उनले देश र जनताप्रतिको गम्भीर उदासीनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिएको बताएका छन् । प्रधानमन्त्री ओलीले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको आरोप समेत लगाए । प्रधानमन्त्रीले पार्टीभित्रका नेताहरुले केन्द्रिय कमिटीको माग गर्दै भेला आयोजनाको माग गरेको उदाहरण दिए पनि केहि समयअघि मात्रै प्रधानमन्त्रीकै समर्थनमा सडकहरुमा नारा जुलुसका कार्यक्रमहरु आयोजना भएको थियो ।

विज्ञहरुले समेत सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरेका छन् । कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे ।

‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन्, संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ । अनेक कामहरुमा उनीहरु छन् । त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन्’, उनले भने, ड्युटीको क्रममा संक्रमित भइराखेका छन् । रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन् ।’

प्रधानमन्त्री अहिलेका वर्षाको मौसमसँगै बाढी पहिरो आएको र सरकारले थाहा पाउने बित्तिकै जोखिमका साथ रेस्कयु टिम सरकारको तर्फबाट गएको बताएका छन् । उनले सरकारले गरेका राम्रा काम बौद्धिक जगतले नदेखेको बताए । ‘काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ? त्यो रेस्कयु गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन् ’, उनले भने ‘त्यहाँका जनतालाई सोध्नुपर्‍यो सरकार छ कि छैन्। सरकारले जहिले पनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेरु त्यहाँ खटेका छन रेस्क्यु गरेको छ। रिलिफ पुर्‍याएको छ ।’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने बताए । उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले लकडाउन गर्ने, नगर्ने कुरा समुादयमा संक्रमणको स्तर हेरेर निर्धारण हुनुपर्ने बताएका छन् । उनले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडाइ गर्नुपर्ने भन्दै मुख छोपेर हिंड्न बानी पार्नुपर्ने बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सरकारले सुझाव लिने क्रममा अब प्रतिदिन १८ हजार जनासम्मको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न सक्ने गरी ल्याबको स्थापना गरिएको जानकारी दिइएको छ । हालसम्म चार लाख जनाको पीसीआर टेस्ट भएको जानकारी समेत सरकारले दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७