कोरोना परीक्षणको दायरा बढाउँदै महानगर


२० श्रावण २०७७, मंगलवार
kathmandu mahanagarpalika

काठमाडौं, २० साउन । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ ।

साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ ।

सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । यही १४ गते वडा २८ मा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि सङ्क्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो ।

त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना सङ्क्रमण बढिरहेको छ । वडा २७ मा सङ्क्रमितको सम्पर्कमा रहेका ३०२ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो ।

परीक्षणका क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो । उनीबाट पहिले उनका भाइमा सङ्क्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो ।

सङ्क्रमणको दर बढेपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रा पर्व पनि घरमा नै विधि पुर्‍याएर मनाउन समेत आग्रह गरेका छन् । ठूलो जमातमा सङ्क्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले आज एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७