उपत्यकाका चार वटै यातायात कार्यालयले रोक्यो लाइसेन्स वितरण


२० श्रावण २०७७, मंगलवार
1528089591licence3

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो ।

कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गाह्राे भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभर्‍याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् । उनले भने, ‘उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन ।’

कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ ।

नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ । उनले भने, ‘सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७