आमाकै सहमतिमा ल्याएको शिशुलाई बालगृहले बेवारिसे भनेर भाइरल बनायो

यसरी भयो भाइरल


२१ श्रावण २०७७, बुधबार
kapan child

काठमाडौं, २१ साउन । कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको छ ।

प्रहरी र राष्ट्रिय बाल परिषद्को अनुसन्धानबाट आप्रवासी कामदार महिला समूह (अम्कास) ले कपनस्थित केयर बालगृहलाई शिशु जिम्मा लगाएको पत्ता लागेको हो ।

गत १२ साउनमा कार्टुनमा प्याक गरिएको शिशु चौरमा फेलापारेको भन्दै केयर बालगृहकै एक बोर्ड सदस्यले फेसबुकमा फोटो हालेपछि सामाजिक सञ्जालमा भइरल भएको थियो । त्यसलगत्तै शिशुका लागि देश विदेशबाट सहयोग समेत संकलन भएको छ ।

तर, अम्कासकी कार्यक्रम संयोजक जमुना गिरीले १२ साउनमा बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई शिशु जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ । बाल परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालका अनुसार शिशु हस्तान्तरण गर्दा दुई पक्षबीच लिखित सम्झौता समेत भएको थियो ।

‘कार्टुनमा पोको पारिएको अवस्थामा शिशु फेला परेको खबर पाउना साथ हाम्रो टोली घटनास्थलमा पठाएका थियौँ । प्रहरीको सहयोगमा अनुसन्धान पनि भयो । उक्त शिशु सामाजिक सञ्जालमा भनिएझैँ बालगृहले फेलापरेको होइन । अम्कासले बालगृहलाई जिम्मा लगाएको रहेछ । त्यसका कागजात समेत फेला परेका छन्,’ भुसालले भनिन् ।

परिषद्का अनुसार चितवनकी ३८ वर्षीया महिलाले उक्त शिशु ६ साउनमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा जन्माएकी हुन् । सुत्केरी बेथा लागेपछि उनी ४ साउनमा अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि उनी अम्कासको शरणमा बसेकी थिइन् । वैदेशिक रोजगारका क्रममा दुबई गएकी उनी गत ८ असारमा नेपाल फर्केकी थिइन् ।

कोरोना संक्रमणका कारण दुबईबाट उद्धार गरी ल्याइएकी ती महिला घर जान सक्ने अवस्थामा थिइनन् । बसुन्धरास्थित होल्डिङ सेन्टरमा बसेकी उनलाई नेपाली सेनाको समन्वयमा महाराजगन्जस्थित अम्कासको सेल्टरमा राखिएको थियो । सोही क्रममा सुत्केरी बेथाले च्यापेपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले जन्मेको शिशु घर लैजान सक्ने अवस्था नभएपछि बालगृहको जिम्मा लगाइएको अनुसन्धानबाट खुलेको बताइन् । ‘वैदेशिक रोजगारका क्रममा विदेशमा रहेकी महिलालाई कोरोना महामारीपछि उद्धार गरी नेपाल ल्याइयो ।

तर, घर जान सक्ने अवस्था भएन । सोही क्रममा बच्चा जन्मियो । बच्चालाई जिम्मा लिने अवस्था पनि भएन । पाल्छु भनेर बालगृह आएपछि अम्कासले जिम्मा लगाएर पठाएको देखिन्छ,’ उनले भनिन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नवीन कार्कीले घटनाको अनुसन्धान भइरहेकाले विस्तृत बताउन नसकिने बताए । ‘शिशु फेलापरेको सूचना आएपछि हामी घटनास्थलमा पुग्यौं । अहिले अनुसन्धान जारी छ । अनुसन्धानपछिको प्रतिवेदनबाट मात्रै यस सम्बन्धमा केही भन्न सकिएला,’ उनले भने ।

यसरी भयो भाइरल

शिशु जन्मिएपछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो । अस्पतालले ९ साउन डिस्चार्ज गरेपछि अम्कासले दुवैलाई सेल्टरमा लिएर गयो । अम्कास र केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीबीच त्यसअघिदेखि नै कुरा भइरहेको थियो । आमा र बालगृहको मञ्जुरीनामाको कागजात बनेपछि १२ साउनको बिहान पुष्पा शिशु लिएर बालगृह फर्केकी थिइन् ।

बालगृहमा फर्केपछि पुष्पालाई शिशु हुर्केपछि आमासँगै जाला वा आमाले फिर्ता लैजालिन् भन्ने चिन्ता लाग्यो । बालगृहबाट धर्मपुत्र–पुत्रीका रूपमा बालबालिका जिम्मा लगाउने गरिन्छ । त्यसपछि उनले शिशु बेवारिसे फेलापरेको स्थापित गर्ने ‘आइडिया’ फुराइन् ।

र, १२ साउनकै साँझ ६ बजेतिर शिशुलाई कार्टुनमा प्याक गरेर बालगृह नजिकैको चौरमा राखिन् । योजनाअनुसार नै बालगृहमा आश्रित केटाकेटीलाई खेल्न चौरतर्फ पठाइन् । स्वाभाविक रूपमा केटाकेटीले शिशु भएको कार्टुन फेला पारे । लगत्तै बालगृहका कर्मचारी घटनास्थल पुगेर भिडियो र फोटो खिचे ।

बालगृहकै एक बोर्ड सदस्यले आफ्नो फेसबुक पेजमा बेवारिसे शिशु फेला परेको भन्दै फोटो पोस्ट गरिन् । नवजात शिशुलाई बेवारिसे फालिएको पोस्टप्रति सबैको चासो हुने नै भयो, राम्रा–नराम्रा प्रतिक्रियासहित उक्त फोटो धेरैले सेयर गरे ।

भोलिपल्ट युट्युबरहरूको पनि मसला बन्यो । बालगृह पुगेर उनीहरूले पुष्पाको अन्तर्वार्ता लिए । उनले पनि शिशु बेवारिसे नै फेलापरेको बताइन् । घटना झन् भइरल बन्यो । अब देश–विदेशबाट सहयोगको पनि ओइरो लाग्न थाल्यो ।

बेवारिसे शिशु फेलापरेको सूचना पाएपछि राष्ट्रिय बाल परिषद्को टोली पनि बालगृह पुग्यो, प्रहरी पनि आयो । सुरुमा त पुष्पाले शिशु बेवारिसे नै फेलापारेको बताएकी थिइन् । तर, परिषद्को टोलीले बेवारिसे भए–नभएको पुष्टि हुने वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्कालगायतका कागजपत्र मागेपछि उनी हच्किन् ।

‘अप्ठ्यारोमा पर्ने निश्चित भएपछि बल्ल बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले शिशु बेवारिसे फेलापरेको नभई अम्कासबाट ल्याएको बताइन्,’ परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले भनिन् ।

भुसालका अनुसार बालगृहकी सञ्चालिका पुष्पाले अहिले शिशु आमाको जिम्मा लगाइसकेकी छिन् । घटना भाइरल भएपछि अम्कासकी अध्यक्ष विजया राई र कार्यक्रम संयोजक जमुना गिरी १८ साउनमा बालगृह पुगेर शिशु फिर्ता ल्याएका थिए । अहिले आमा र शिशु दुवै अम्कासको सेल्टरमा छन् ।

उक्त बालगृहमा रहेका अन्य बालबालिका पनि त्यसरी नै ल्याइएका हुन सक्ने भन्दै परिषद्ले थप अनुसन्धान गरिरहेको भुसालले बताइन् । ‘हामीले अनुसन्धान जारी राखेका छौँ । प्रहरीले पनि आफ्नो अनुसन्धान गरिरहेको छ,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७